बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • धुलिखेल-खावा र भकुण्डे-तेमाल-मेच्छे खण्डको यात्रा जोखिमपूर्ण

धुलिखेल-खावा र भकुण्डे-तेमाल-मेच्छे खण्डको यात्रा जोखिमपूर्ण

 |  बुधबार, साउन २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल वर्षाले निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल-खावा र भकुण्डे-तेमाल-मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण भएको हो।

गत चैत १९ गतेभित्रमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सडक विभागसँग सम्झौता गरेको निर्माण कम्पनीले धुलिखेल-खावा सडकमा हालसम्म ५० प्रतिशत पनि काम गरेको छैन।

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले धुलिखेलबाट पकुचासम्मको दुई किलोमिटर कटिङ, पानीको निकासका निम्ति नाला निर्माण, सवबेस र बेस गर्ने काम सकेर कालोपत्र गर्ने अवस्थामा पुर्‍याए पनि वर्षाका कारण कालोपत्र हुन नसकेको बताए।

वर्षाका कारण अरनिको राजमार्गको धुलिखेलबाट खावासम्मको सडकमा क्षति भएपछि दुई साता उक्त खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। ती सवारीको भारलाई दृष्टिगत गर्दै ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस बनाएर कालोपत्र गर्ने योजना रहेको उनले सुनाए।

यसैबीच, दुई वर्षभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सम्झौता भएको भकुण्डे-तेमाल-मेच्छे सडकखण्डको ठेक्काको म्याद यही साउन १५ गते समाप्त भएको छ। हालसम्म २५ प्रतिशत मात्र काम भएको छ।

निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका-४ भकुण्डेबाट वडा नं ५ को डुँडेपौवासम्म  सात किलोमिटर र तेमाल गाउँपालिका-५ याङ्वेलबाट वडा नं ७ चापाखोरीसम्म साढे छ किलोमिटर सडकमा नाला, बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने सम्झौता गरेको थियो। यो सडकखण्डको यात्रा पनि कष्टकर भएको छ। रासस

प्रकाशित: Aug 07, 2024| 21:31 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्