काठमाडौं- गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा असर पुगेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वर्षाका कारण विभिन्न ठाउँमा ट्राफिक जाम भएको छ।
लैनचौर, केशरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, बबरमहल, बालाजु, कुपन्डोल लगायत ठाउँ बढी प्रभावित भएका छन्। निरन्तरको वर्षाका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो। ठाउँठाउँका सडकमा पानी जम्दा सवारीसाधन जान सक्ने अवस्था छैन। करिडोरका सडकहरूमा पनि पानी जमेकाले धेरैले त्यसलाई छलेर जाँदा ठाउँ-ठाउँमा जाम भएको हो।
बागमतीले पार गर्यो खतराको तह
लगातारको वर्षाका कारण खोकना आसपासको बागमती नदीले खतराको तह पारेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरस्थित खोकना हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको हो। महाशाखाले बागमती नदीमा खतराको तह नाघेकाले आवश्यक सावधानी अपनाउन आसपासका बस्तीलाई आग्रह गरेको छ।
हाल काठमाडौँ उपत्यकामा पानी पर्ने क्रम रोकिए पनि छिटफुट वर्षा भइरहेको तथा आज दिनभर जसो नै पानी परिरहने भएकाले महाशाखाले सबैलाई सतर्क रहन पनि भनेको छ।
नदी किनार जलमग्न
सोमबार साँझदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार क्षेत्र जलमग्न बनेका छन्।
काठमाडौंको बागमती, विष्णुमती, रुद्रमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्ते लगायतका खोलामा जलसतह बढेपछि किनारमा रहेका बस्ती डुबानमा परेका छन्।
बागमती, विष्णुमती, कोड्कुलगायत खोलाले जल सतह पार पर्दा किनारका बस्ती डुबानमा परेका छन्।
जल तथा मौसम विज्ञान विभागकाअनुसार काठमाडौंको धाप क्षेत्रमा पछिल्लो १२ घन्टामा ५९.४ मिलिमिटर पानी परेको छ। कपनमा ८४.६, थलीप्मा ६७.६ मिलिमिटर पानी परेको छ। ललितपुरको गोदावरीमा १०१.६, काठमाडौंको नैकापमा ५६.४ मिलिमिटर पानी परेको छ।
वर्षाले सिंहदरबारसमेत प्रभावित, कांग्रेस-एमाले संसदीय दलको कार्यालय डुबानमा
लगातारको वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ। निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन्। वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ।
सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ।
रामशाहपथस्थित राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ। पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास सहज बनाइरहेको छ। अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका हुन्।
वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको छ। कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका छन्। लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ।
लगातारको झरीले काठमाडौँका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधारण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो। काठमाडौँका कलंकी, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल, थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।
एमाले कार्यालयमा फेरि पस्यो बाढी
सोमबार राति र मंगलबार बिहानभर परेको वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ।
एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेका छन्। मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ।
यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो। पछिल्लो पटक एक हप्ताअघि डुवानमा परेको थियो।
मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ। पक्कीपुलले पानीको प्रवाह रोकिएका कारण सडक र नजिकका घरबस्तीहरु डुबानमा परेका हुन्।