काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेपछि प्रदर्शनकारीहरूले खुसीयाली मनाइरहेका छन्। बंगलादेशको झण्डा फहराएर आमसभा गरी खुसीयाली मनाइरहेको तस्बिरहरू बाहिरिएका छन्।
शेख हसिना सन् २००९ देखि सत्तामा थिइन्। १५ वर्ष सत्ता चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।
आरक्षण विरूद्धको प्रदर्शन चर्किएपछि उनले देश नै छाड्नुपर्यो। आइतबारमात्रै त्यहाँ कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ।
प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवास गणभवनमा समेत प्रवेश गरेका थिए। भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएका थिए। प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी छन्।
प्रधानमन्त्री हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका छन्। त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै उनले अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको बताएका छन्।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततिहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए। जुलाई पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा निर्णय फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बनेको थियो।
विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन्। उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन्। सर्वोच्चको आदेशले उनको निर्णयलाई उल्ट्याइदिए पनि आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे चासो नदेखाएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए।