बिहीबार, चैत २६, २०८२

रसुवाको ८१ हेक्टर जग्गामा सिँचाइ सुविधा

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

रसुवा- डिभिजन सिँचाइ कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाको ८१ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराएको छ। हालसम्म निर्माण गरिएका योजनाबाट जिल्लाभर एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको प्राविधिक सिँचाइ कार्यालयका प्रमुख गोविन्दप्रसाद भूर्तेलले जानकारी दिए।

National life

बाँझो रहेका खेतीयोग्य जमिनमा सिँचाइ सेवा उपलब्ध गराइ कृषि उत्पादन बढाउने संघ तथा प्रदेश सरकारको नीति अनुरूप विभिन्न सिँचाइ योजना निर्माण गरिएका हुन्।

विसं २०७२को भूकम्पले क्षति पुर्‍याएका योजनालाई मर्मतसम्भार गर्नुका साथै नयाँ योजनालाई नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिएको प्रमुख भुर्तेलले बताए। गत आर्थिक वर्षमा सिँचाइ योजनामा १३ करोड ९० लाख रूपैयाँ खर्च भएको उनले बताए। निर्माण गरिएका सिँचाइ योजनाबाट एक हजारभन्दा बढी किसानले सुविधा पाएका छन्।

यस्तै जिल्लामा २४ स्थानमा नदी नियन्त्रण तथा रोकथाम गर्न तटबन्ध निर्माण गरिएको छ। सिँचाइ कार्यालयले उत्तरी रसुवाको कोमिन श्यामेवाङ्फेल माविमा सोलारसमेत जडान गरेको छ। बिजुली नभएको समयमा सोलार बत्ती प्रयोग गरेर पठनपाठन गर्न सकियोस भनेर सोलार बत्ती जडान गरिएको हो।

कालिका गाउँपालिका-५ मा थोपा सिँचाइ योजनाबाट स्थानीय ५८ परिवार लाभान्वित भएका प्रमुख भुर्तेलले बताए। खेर गएको पानी संकलन गरी ट्यांकीमा जम्मा गरेर ६० रोपनीभन्दा बढी जग्गामा सिँचाइ गरिएको भदौरे नमूना सिँचाइ व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष तारा पौडेलले जानकारी दिए। भदौरे थोपा सिँचाइ योजना देशकै नमूना भएको उनको भनाइ छ।

kumari

यसैगरी धोबीखोलादेखि पाईप सिँचाइ योजनाबाट धैबुङकोट, ढकाल डाडा, कटुञ्जेसमेतका क्षेत्रमा सिँचाइ सेवा पुर्‍याइएको छ। त्यसबाट सयौँ परिवार लाभान्वित भएका स्थानीय बासिन्दाले बताएका छन्। रासस

प्रकाशित: Aug 05, 2024| 21:31 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्