बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदको राजीनामा माग गर्दै आइतबारबाट सुरु भएको दोस्रो चरणको विद्यार्थी आन्दोलनका क्रममा कम्तीमा ५९ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार आइतबारको प्रदर्शनमा कम्तीमा २०० प्रदर्शनकारी घाइते भएका छन्। सिरजगन्जस्थित प्रहरी चौकीमा हजारौँ प्रदर्शनकारीले आक्रमण गर्दा १३ जना प्रहरीको पनि मृत्यु भएको छ।
पछिल्लो पटक उनीहरूको एकसूत्रीय माग प्रधानमन्त्रीको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रधानमन्त्री शेख हसिनाले 'विभेदविरोधी विद्यार्थी आन्दोलन' का संयोजकहरूलाई वार्तामा बोलाएकी थिइन्। 'गणभवनको ढोका सधैँ खुल्ला छ। म कोटाविरोधी प्रदर्शनकारीहरूसँग कुरा गर्न चाहन्छु। उनीहरूको कुरा सुन्न चाहन्छु। म हिंसा चाहन्नँ,' प्रधानमन्त्रीले हसिनाले भनेकी थिइन्। आन्दोलनकारी भने हसिनासँग वार्तामा नबस्ने अडानमा छन्।
आरक्षण र कोटा प्रणाली अदालतको आदेशले खारेज गरेपछि आन्दोलन केही समय मत्थर बनेको थियो। बंगलादेशको अदालतले ९३ प्रतिशत सरकारी जागिर खुला प्रतिस्पर्धाबाटै हुने आदेश दिएपछि आन्दोलन केही मत्थर भएको हो।
उक्त निर्णयलाई हसिना सरकारले पनि स्वीकार गरिसकेको छ। बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका सन्तानलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीले प्रदर्शन चर्काएका थिए। प्रदर्शनले हिंसात्मक रूप लिएपछि भएको झडपमा डेढ सयभन्दा बढीको ज्यान गएको थियो।
‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो। उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीले विभिन्न स्थानमा र्याली गर्दै आएका थिए। जसअनुसार सरकारी जागिरमा ३० प्रतिशत आरक्षण र कोटा प्रणाली स्वतन्त्र संग्राममा लडेका सहिदहरूको परिवारले पाउँदै आएका थिए। जसलाई सन् २०१८ मा हसिना सरकारले खारेज गरेको थियो। तर गत जुन महिनामा तल्लो अदालतले सरकारको उक्त निर्णय उल्टाएपछि विरोध प्रदर्शन सुरु भएको थियो।