आइतबार, मंसिर २८, २०८२

बाँके निकुञ्जमा बढे पर्यटक

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

राँझा- बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ। निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन्।

National life

गत आर्थिक वर्षमा चार सय ४४ पर्यटक भित्रिएका निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए। उनका अनुसार तीमध्ये चारजना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन्। आर्थिक वर्ष २०७९/८० मा तीन सय १७ पर्यटक आएका जनाउँदै अघिल्लो आवको तुलनामा गत आवमा एक सय २७ बढी पर्यटक भित्रिएका शाहले बताए।

पर्यटक प्रवेश शुल्कबाट निकुञ्जले गत आवमा एक लाख ८३ हजार तीन सय ३३ रूपैयाँ राजस्व संकलन गरेको छ। निकुञ्जमा जंगल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेका संरक्षण अधिकृत शाहले जानकारी दिए।

'बाँके राष्ट्रिय निकुञ्जमा स्थापना भएपछि हालसम्म दुई हजार ५२ पर्यटक भित्रिएका छन्। जसमध्ये सार्क मुलुकका १७ र ३८ जना अन्य विदेशी पर्यटक छन्। निकुञ्जमा सबैभन्दा धेरै गत आवमा पर्यटक भित्रिएका हुन्', संरक्षण अधिकृत शाहले भने। 

बाँके, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व-पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्न, निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनको भनाइ छ।  

Laxmi sunrise bank
kumari

विसं २०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ। हाल निकुञ्जमा २१ वटा बाघ छन्। नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दुरीमा निकुञ्ज छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ। स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ।

भारत ओहोरदोहोर हुने सीमा नजिकै छ। यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका प्रमुख वरिष्ठ संरक्षण अधिकृत शाहले बताए। यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेको उनको बुझाइ छ।

यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास गर्न थालिएको होटल व्यवसायी महासंघ लुम्बिनीका संस्थापक अध्यक्ष भाष्कर काफ्लेले बताए। 'कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउने भएकाले यो निकुञ्ज पर्यटकको ट्रान्जिट प्वाइन्ट हुँदैछ', उनले भने, 'पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएकाले पर्यटकको चहलपहल पनि बढेको छ।'

मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेञ्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्ण चौधरीले बताए। आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ।

बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन्। रासस

प्रकाशित: Aug 04, 2024| 17:02 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्