बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पिसाब चुहिने समस्याको रोकथाम र उपचार

 |  आइतबार, साउन २०, २०८१
nespernesper

डा. अरुणा उप्रेती

डा. अरुणा उप्रेती

आइतबार, साउन २०, २०८१

केही वर्षअघि ५० वर्षीया मेरी एकजना साथीले मलाई भनेकी थिइन्, ‘म अफिस बाहिर कतै एक दिन जाँदा पनि ब्यागमा लुगा हालेर जान्छु। त्यो नगरे त मलाई समस्या पर्छ।’  ‘अरु कसैलाई भन्नै गाह्रो छ।’

triton college

‘मलाई त हाच्छ्युँ गर्दा, धेरै हाँस्दा, लामो समय उभिरहँदा, खोक्दा अलि–अलि पिसाब चुहिन्छ। लुगा भिज्छ, आफैंलाई गन्हाउँछ, अनि लुगा फेर्नैपर्छ। त्यसैले मैले एक जोर लुगा बोक्नैपर्छ। यसरी धेरै पिसाब नचुहियोस् भनेर पानी पनि कम पिउँछु।’

मैले भने, ‘यस्तो त धेरै महिलाहरूलाई हुन्छ। महिलाहरू व्यथा बोकेर चुप लाग्छन्। सल्लाह लिने, उपचार गर्ने चलन छैन। ‘यो मलाई मात्र हो’ भनेर अस्पताल जाँदैनन्। तर सुरुकै अवस्थामा दैनिक व्यायाम गरे यो समस्या धेरै नियन्त्रणमा आउँछ।“

पिसाब चुहिन्छ भनेर पानी कम खानु त हानिकारक हुन्छ। यसले अन्य समस्या निम्तिने हुन्छ। पानी कम भए पिसाबको संक्रमण हुन सक्छ। यसरी संक्रमण भइरहे मिर्गौलामा पनि समस्या पर्न सक्छ। पानी कम पिउँदा पिसाब चुहिने समस्याको समाधान हुँदैन, यो अरु रोगको कारणले हुन्छ।

३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुन सक्छ। कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन्। गाउँघरमा धेरै भारी बोक्ने, धेरै बच्चा जन्माएका महिलालाई यो समस्या हुन सक्छ। नियमित व्यायाम र शरीरलाई मोटो हुन नदिने हो भने यो समस्या कम हुन्छ।

Metro Mart
vianet

के हो पिसाब चुहिने समस्या ?
चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इन्कन्टिनेस’ वा ‘मूत्र असंयम’ भनिन्छ। महिलालाई यसले दैनिक जीवनमै अप्ठ्यारो गराउँछ। सामाजिक क्रियाकलापमा पनि सहभागी हुन वा खुलेर हाँस्न पनि गाह्रो हुन्छ। 

महिलामा यस किसिमको समस्या हुनुको कारण पिसाब थैलीको मांसपेसी कमजोर वा खुकुलो हुनु हो। हाँस्दा, उफ्रिँदा, हाच्छ्युँ गर्दा, गह्रौं सामान उचाल्दा पेटको मांसपेसीमा बल परेपछि पिसाब थैलीमा जोड पर्दा पिसाब चुहिन्छ। यस्तो समस्या हुँदा छिटो–छिटो पिसाब गर्न जान मन लाग्ने तर शौचालय नपुग्दै पिसाब चुहिने गर्छ। अनि शरीर गन्हाएर गुप्ताङ्ग चिलाउँछ। घाउ हुन्छ। यो समस्या कसैलाई भन्न पनि गाह्रो हुन्छ।

मूत्राशयमा, मूत्रनलीमा संक्रमण भए यो समस्या झन् बढ्छ। महिनावारी रोकिएपछि, धेरै मोटा, मधुमेह भएका महिलालाई पनि यस्तो समस्या हुन सक्छ। त्यसैले सुत्केरी भएपछि नै प्रजनन् अंगको मांसपेसी बलियो बनाउने व्यायाम गर्नुपर्छ। ‘किगल’ व्यायाम गर्न सिकेकी मेरी एउटी साथीको उक्त व्यायामबाट ८० प्रतिशत समस्या कम भएको थियो। यो व्यायाम ‘किगल’ नामका डाक्टरले पहिलोपटक सुरु गरेका थिए। यो व्यायाम एक/दुई दिन गरेर हुँदैन, यसलाई दैनिक जीवनको अङ्ग नै बनाउनुपर्छ।

गर्भावस्थाको सुरुवातदेखि घरीघरी पिसाब लाग्ने हुन्छ भने गर्भावस्थाको अन्तिम महिनामा पनि मूत्राशयमा दबाब बढ्नाले बारम्बार पिसाब लाग्न थाल्छ। यस्तो अवस्थामा कतिपय गर्भवती महिलालाई खोकी लाग्दा पनि पिसाब चुहिन सक्छ। 

केही महिलाहरूलाई सुत्केरी भएपछि पनि पिसाब चुहिने समस्या हुन सक्छ। यो समस्या कम गर्न केही व्यायाम गर्नु आवश्यक हुन्छ। जसले गर्दा पुठ्ठाका मांसपेसीहरू बलियो हुनुका साथै यो समस्या बिस्तारै कम हुन्छ। खानामा रेसादार तत्व कम छ भने कब्जियत हुन्छ जसले गर्भावस्थामा पुठ्ठाका मांसपेसीहरूमा दबाब हुन्छ।

कोक, फ्यान्टा आदि गुलिया पेय पदार्थ पिउँदा धेरै पिसाब र पिसाब चुहिने समस्या बढाउँछ। पानीको प्रयोगले गर्दा कब्जियत कम हुन्छ। शरीरमा पानीको कमी नहोस् भनेर पानीमा कागती, तुलसी हालेर पिउनुपर्छ।

उपचार
किगल व्यायाम

योगासनः  आसनहरू दैनिक प्रयोग गर्दा पनि समस्या केही कम गर्न सकिन्छ ? सर्वाङ्गासन, उष्ट्रासन, उत्कटासन, ताडासन आदिले मेरुदण्डमा पुठ्ठाको, जननेन्द्रियको मांसपेसीलाई बलियो बनाउँछ।  सुत्केरीले यस्ता योगासनहरू गरे ‘पिसाब चुहिने’ समस्या कम हुन सहयोग पुग्छ।

सफाइः सुत्केरी अवस्थामा जननेन्द्रियमा संक्रमण नहोस् भन्ने महिलाले निम–तीतेपाती आदि पानीमा उमालेर जननेन्द्रिय धुनुपर्छ। 
४०–४५ वर्षको उमेरमा महिनावारी सुक्ने बेलामा महिलाको शरीरमा ‘एस्ट्रोजन’ नामक हर्मोनको कमीले पाठेघर र पिसाब थैलीका मांसपेसी पातलो हुने सम्भावना हुन्छ। अनि पिसाब चुहिने समस्या हुनसक्छ।

जीवनशैलीः स्वस्थकर जीवनशैली / खानपान, अनुशासन आदिले यो समस्या केही कम गर्न सकिन्छ  यस्तो समस्या परेका महिलाहरूले पिसाब धेरै लाग्छ भनेर पानी, झोल पदार्थ पिउन कम गर्नुहुँदैन। धूम्रपान त्यागेकै राम्रो हुन्छ। 

विश्वमा झन्डै २० प्रतिशत महिलालाई यो समस्या भएको तथ्यांक पाइन्छ। नेपालमा यसको खासै अनुसन्धान त गरिएको छैन तर पाठेघरको शल्यक्रिया गरेका, महिनावारी रोकिएका महिलालाई यो समस्या बढी हुनसक्छ। 

समस्या भएका महिलाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर किगल व्यायाम, योगासन सिक्नुपर्छ। तौल धेरै छ भने घटाउने, मधुमेहको समस्या भएकाले औषधि , खानपिनमा ध्यान दिनुपर्छ। यो समस्यालाई बोझ नमानेर व्यवस्थापन गर्न सकिन्छ।

प्रकाशित: Aug 04, 2024| 10:21 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्