बिहीबार, चैत २६, २०८२

इलाममा अलैंची

भाउ बढ्यो, बोट मासिँदै

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१

इलाम- इलाममा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन्। अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन्।

National life

गत वर्ष प्रतिमन (४० किलो) ८० हजार रुपैयाँमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा ८५ हजार रुपैयाँ प्रतिमन खरिदबिक्री भइरहेको छ।

यसवर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन्। समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए। 

'अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्छ। त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन्। पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्', उनले भने।

यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उनले बताए। मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ। अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ। 

kumari

समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासंघले जनाएको छ। सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन्।

मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासंघले जनाएको छ। अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भइरहेको जनाएको छ। किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुँदै आएको छ।

किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ। जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ। सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताए। 'अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन्। सलकपुरको टिकाउ भने कम हुन्छ', उनले भने।

वर्षामा सलकपुरको बिरुवा लगाइन्छ। अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ। झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ। नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ। इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ।

अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पुर्‍याइएको अलैँची व्यवसायी महासंघले जनाएको छ। 

नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो। यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासंघको भनाइ छ। हाल ८५ हजार रुपैयाँ प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताए। यस वर्ष अलैँचीको मूल्य बढेर एक लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको उनको भनाइ छ। 

पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो। आव २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो। रासस

प्रकाशित: Aug 02, 2024| 22:01 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्