मंगलबार, भदौ २४, २०८२

पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

 |  शुक्रबार, साउन १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१

vianetvianet

कास्की- पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ। महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो।

Kumaribank

मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहेकी महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ। डीएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ। मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा रु दुई थप लिनसक्ने निर्णय गरेको छ।

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्न छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ। मल बिक्री वितरणका लागि गत आव २०८०/८१ मा मल बिक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको प्रमुख कडरियाले बताए।

सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ। सहज र सुपथ मूल्यमा मल बिक्री गरे/नगरेको अनुगमन गरिने पोखरा महानगरका उपप्रमुख गुरुङले बताइन्। 

Metro Mart

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डीएपीको तुलनामा पोटासको खपत कम भएको जानकारी दिए। उनले रासायनिक मलको अनुपात विश्लेषण गर्दा पोटासको प्रयोग कम भएको बताए। उनका अनुसार यसबारेमा किसानलाई सचेतना अभिवृद्धिको खाँचो छ।

पोखरा महानगरमा गत आवमा युरिया एक हजार दुई सय २१ मेट्रिक टन, डीएपी छ सय ४५ मेट्रिक टन र पोटास ९८ दशमलव ९५ मेट्रिक टन गरी कुल एक हजार नौ सय ६५ दशमलव दुई मेट्रिक टन खपत भएको महानगरले जनाइएको छ। रासस

प्रकाशित: Aug 02, 2024| 19:01 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्