नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सहमतिबाट अब मुलुकले निकास पाउने दाबी गरेका छन्।
नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे। कोइरालाले कांग्रेस सधैँ सहमति, सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए। मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् रहेको कोइरालाको भनाइ थियो।
उनले नेता कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर बढ्नुको विकल्प नरहेको बताए। अब गठन हुने सरकार दुई तिहाइ बहुमतको हुने भन्दै उनले सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने बताए।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउँदै सुशासनका लागि कांग्रेस र एमाले एक्कै ठाउँमा आउनुपरेको बताए।