शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दलहरुको सम्पूर्ण शक्ति इलाममा, ओझेलमा बझाङ

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

ntc landingntc landing

काठमाडौं- राजनीतिक दलहरुलाई अहिले चुनावको चटारो छ। मतदान हुन केही दिनमात्र बाँकी रहँदा चुनावी चहलपहल ह्वात्तै बढेको छ। प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेश सभातर्फ बझाङमा यही वैशाख १५ गते निर्वाचन हुँदैछ।

himalayan bank box

दुई क्षेत्रमा निर्वाचन हुन लागे पनि सबैको ध्यान भने इलाममा छ। बझाङमा न शीर्ष नेताहरु पुगेका छन्, न त मिडियाले चासो दिएका छन्। सबैको चर्चा र चासो इलाममा कसले जित्ला भन्नेमा छ। आफ्ना उम्मेदवारलाई जिताउन दलहरुले सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्। 

यो उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन्। निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाममा केन्द्रित भइरहेका छन्। इलाम-२ मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

suhang_milan_dambar_ilam_2-1712482826.jpg
उपनिर्वाचनका लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन्। कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै-जाँदै गरेका छन्। थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावी सभा र घरदैलोमा सहभागी भएका थिए।

उनी पुनः वैशाख ८ गते आमसभामा सहभागी हुन इलाम आए। अर्का महामन्त्री शर्मा अधिकांश समय इलाममै बसेका छन्। सहमहामन्त्री भीष्मराज आङ्दम्वे र नेता मीन विश्वकर्मा पनि इलाममा छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र मीनेन्द्र रिजाल मौन अवधि सुरु हुनुअघि इलाम आउने तय भइसकेको छ। 

इलाम उपनिर्वाचनमा कांग्रेसबाट भेषराज आचार्य र डम्बर खड्का उम्मेदवारको आकांक्षी थिए। धेरै कार्यकर्ता भेषराजको पक्षमा भए पनि पार्टीले खड्कालाई उम्मेदवार बनाएपछि पार्टी एक भएको सन्देश दिन पनि कांग्रेस नेताहरू इलाम केन्द्रित भएका हुन्।

आचार्य शेखर कोइराला निकट हुन्। उम्मेदवार बनेका खड्का भने पार्टी सभापति देउवा निकट मानिन्छन्। खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्बाङसँग झिनो मतले पराजित भएका थिए। 

कांग्रेसमात्र होइन, अरु पार्टीका शीर्ष नेता पनि इलाममा ओइरिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवार मिलन लिम्बूलाई जिताउन सम्पूर्ण शक्ति खर्च गरिरहेको छ। पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डीपी अर्याल इलाम केन्द्रित छन्। शिक्षामन्त्री सुमना श्रेष्ठ, प्रतिनिधि सभा सदस्य तोसिमा कार्की पनि इलाम २ का गाउँटोल घुमिरहेका छन्।

गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने उम्मेदवारी घोषणा कार्यक्रममा पनि इलाम आएका थिए। उनी गत शुक्रबार माङ्सेबुङ गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभामा सहभागी भए।

नेकपा एमाले पनि इलाम-२ मा आफ्नो विरासत जोगाउन लागिपरेको छ। एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्बाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो र एमालेले उनकै छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ। एमाले स्थायी कमिटी सदस्य तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा इलाममा एमालेले चुनावी मोर्चा हाँकिरहेको छ। चुनावी कार्यक्रममा पार्टीका अन्य स्थायी कमिटी सदस्यहरू पनि आउने-जाने गरिरहेका छन्।

वैशाख ५ गते इलामको मङ्गलबारेमा भएको सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली आएका थिए। उनले कार्यक्रममा इलामको विकासको जिम्मा सुहाङ नेम्बाङले लिने र आफूले सुहाङको जिम्मा लिने भन्दै मत मागेका थिए। सुहाङलाई नेकपा माओवादी केन्द्र, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टीले पनि सघाएका छन्।

नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई भोट माग्न नेता झलनाथ खनाल आएका छन्। इलाम उनको गृहजिल्ला पनि हो। सो पार्टीका तर्फबाट जीतबहादुर राई उम्मेदवार छन्। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन एक साताअघि इलाम आएका थिए। इलाम बजारमा आयोजित चुनावी सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे। उनीसहित नेता रवीन्द्र मिश्रसमेत इलाम आएका थिए। इलाममा राप्रपाका तर्फबाट लक्ष्मी गुरुङ चुनावी मैदानमा छन्।

प्रकाशित: Apr 22, 2024| 07:30 सोमबार, वैशाख १०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्