शुक्रबार, भदौ १२, २०८३

सात महिनामा आयो साढे आठ खर्ब रेमिट्यान्स

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको माघसम्म रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ थियो।

२०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा रु.१८४४ अर्ब ९४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ।

चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

२०८० माघ महिनामा चालु खाता रु.१६१ अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४० अर्ब १६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ।

२०८० माघ महिनामा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई रु.३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १८ करोडले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोडले धनात्मक रहेको थियो।

२०८० माघ महिनामा शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२८ अर्ब ५५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ।
 

प्रकाशित: Mar 10, 2024| 15:25 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्