पोखरा- सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको ११ औं संस्करणअन्तर्गत ‘बुद्ध भगवान् कि दार्शनिक ?’ सत्रमा यही प्रश्नमा केन्द्रीत रहेर शनिबार बहस भयो। यो बहसमा वक्ता ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल र भिक्षु धज्जवन्तो र सहजकर्ता लेखक सरस्वती प्रतीक्षा थिए।
लेखक पौड्यालले बुद्ध भगवान् नभई मार्गदर्शक भएको बताए। ‘बुद्ध तपाईं हामीलाई सही बाटो देखाउने मार्गदर्शक हुन्। बुद्धले पाली भाषामा आफूलाई कल्याण मित्र भनेका छन्। अर्थात् राम्रो गर्ने मित्र भन्ने हो,’ उनले भने, ‘बुद्ध भगवान् होइनन् यद्दपि लोक व्यवहारमा भगवान् भनिएको छ।’
बुद्धलाई दार्शनिक भन्न मिल्नेमा भने पौड्याल सहमत देखिए। बुद्धको दर्शन जीवनलाई लिएर व्याख्या भएकाले दार्शनिक भन्न मिल्ने उनको तर्क छ। ‘बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवनलाई लिएर छ। बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवन कसरी चलिरहेको छ भनेर छ। दुःख कसरी आइलाग्छ ? त्यसको कारण के हो ? हटाउन सकिन्छ कि सकिँदैन ? उपाय भए त्यो के हो ?’ उनले थपे, ‘बुद्धको सम्पूर्ण दर्शन यही वरपर घुम्छ। त्यस हिसाबले बुद्धलाई दार्शनिक भन्न सकिन्छ।’
भिक्षु धज्जवन्तो पनि बुद्धलाई भगवान् नै मान्ने विषयमा सहमत देखिएनन्। बुद्धलाई भगवान्भन्दा पनि विभिन्न मोह त्यागेको व्यक्तिको रूपमा बुझ्दा राम्रो हुने उनको भनाइ थियो। ‘हामी नेपालमा बसेर भगवान् भन्ने गर्छौं। भगवान् भन्ने शब्द बुद्धसँग जोड्दा बुद्धको ओहदालाई निकै तल झारिरहेका हुन्छौं हामी। उहाँलाई राग, द्वेष, मोहबाट मुक्त व्यक्ति भनेर बुझ्दा राम्रो हुन्छ,’ धज्जवन्तोले भने।
बुद्धलाई किन भगवान् भनिएको हो त ? परम्परामा बुद्धलाई भगवान् मान्ने मनोविज्ञान रहेको र अहिले भगवान् मानिएकाले अहिले त्यसैको निरन्तरता भएको लेखक पौड्यालले बताए। ‘जुन परम्परादेखि चलिआयो त्यसलाई पछ्याउने मनोविज्ञान थियो। बुद्धकालभन्दा पहिल्यैदेखि यस्तो मनोविज्ञान थियो। त्यसकारण उनलाई भगवान्को रुपमा व्याख्या गर्ने गरिएको हो,’ उनले भने।
छलफलमा बुद्ध महिला द्वेषी भए÷नभएको विषय पनि उठ्यो। दुवै वक्ता बुद्धलाई महिला द्वेषी भन्न नमिल्नेमा एकठाउँ देखिए। भिक्षु धज्जवन्तोले बुद्ध क्रान्तिकारी विचार धारा भएको व्यक्ति भएको र महिलाको उत्थानबारे सोच्ने गरेको जिकिर गरे। महिलालाई कुन अवस्थाबाट उकास्ने भन्ने सोच्नुहुन्थ्यो,’ उनले भने, ‘महिला निर्माणको पक्षलाई साक्षात्कार गर्न सक्छन् तर एकैपटक हुँदैन विस्तारै गर्नुपर्छ भन्ने हो।’
बुद्धलाई किन महिला द्वेषी भनियो त ? लेखक पौडेलले बुद्धबारे पुस्तान्तरण हुँदा महिला द्वेषी मानिसकता भएका व्यक्तिले त्यसलाई प्रचलनमा ल्याएको हुनसक्ने बताए। ‘बुद्धपछिको अर्को पुस्तालाई हस्तान्तरण ग¥यो। उसले अर्को पुस्तालाई हस्तान्तरण गर्यो। त्यसैबीचमा महिला द्वेषी मानसिकता भएका कसैबाट ती कुरा घुसेका हुन सक्छन्,’ पौड्यालले थपे, ‘यसको आधार के हुनसक्छ भने बुद्धका वाणी संकलन गर्न सभा डाकिन्थ्यो। त्यसमा कतै महिला वा भिक्षुणी सहभागी हुन पाएनन्। पुरुषमात्र सहभागी भएको ठाउँमा उसले महिला द्वेषी मानसिकताबाट प्रक्षेपण गरेको हुनसक्छ।’
भिक्षु धज्जवन्तोले पछिल्लो समय मानिस सानो समस्याले पनि तनावमा रहने गरेको सुनाए। भूत र भविष्यको चिन्ताले वर्तमानमा मान्छे अल्झिएकाले खुसी हुन नसकेको उनको भनाइ थियो। चिन्ता र तनाव कम गर्न नियमित ध्यान गर्न उनले सुझाए।