आइतबार, फागुन २४, २०८२

काठमाडौंसहित ५ जिल्लामा देखियो अफ्रिकन स्वाइन फिभर, कति घातक?

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा देखिने ‘अफ्रिकन स्वाइन फिभर’ यस वर्षको माघसम्म काठमाडौंसहित पाँच जिल्लामा देखिएकोे छ। माघ २५ गतेसम्म काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा यो संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। 

National life

पछिल्लोपटक कीर्तिपुर नगरपालिका–६ र ललितपुरको गोदावरी नगरपालिका–७ मा अफ्रिकन स्वाइन फिभर देखिएको छ। गोदावरीका केही व्यावसायिक बंगुर फार्महरूमा स्वाइन फिभर पुष्टि भएको ललितपुर महानगरपालिकाका पशु सेवा शाखा प्रमुख राजेन्द्र बिष्टले बताए। उपत्यकामा समेत यो संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ। 

चीन तथा भारतमा सन् २०१८ देखि देखिएको अफ्रिकन स्वाइन फिभर संक्रमण नेपालमा भने २०७८ चैतमा मात्रै देखिएको हो। त्यसको पुष्टि २०७९ जेठ २ गते मा भएको थियो। दुई वर्षको अवधिमा २८ जिल्लामा फिभर फैलिएको पशु सेवा विभागले जनाएको छ। 

के हो अफ्रिकन स्वाइन फिभर? कति घातक? 

अफ्रिकन स्वाइन फिभर सुँगुर, बंगुर प्रजातिमा भाइरसका कारण हुने महामारीजन्य रोग हो। हालसम्म यसको प्रभावकारी उपचार पद्धति नभएका कारण संक्रमण भएका जनावरमा मृत्युदर १०० प्रतिशतसम्म हुन्छ।  

Laxmi sunrise bank
kumari

फिभर संक्रमित अधिकांश जनावरमा लक्षण कम देखिन्छ भने केहीमा उच्च १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, झोक्राउने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, छेर्ने, छट्पटाउने, गर्भ तुहिने, कानका टुप्पाहरूमा रगत जम्ने, खाना नखाने बान्ता गर्ने र केही दिनपछि मृत्यु हुने गर्दछ।

संक्रमितबीच कसरी सर्छ? 

अफ्रिकन स्वाइन फिभर सुंगुर र बंगुर प्रजातिका जनावरबीचको प्रत्यक्ष सम्पर्कबाट सर्नेगर्छ। संक्रमित पशुको र्‍याल, रगत, मलमूत्र, दानापानी, संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेका सामाग्रीहरूमार्फत एक अर्कामा यो संक्रमण सर्ने विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए। 

त्यस्तै, संक्रमित जनावरको ओसारपसार तथा किनबेचमार्फत पनि यो संक्रमण फैलिन सक्छ। नेपालको हकमा छिमेकी मुलुकहरूमा अफ्रिकन स्वाइन फिभर देखिएकै वर्षबाट ती देशहरूबाट सुँगुर बंगुर ल्याउन कडाइ गरिएपनि नियन्त्रणमा कठिनाइ भएको डा. ढकाल बताउँछन्। 

स्वाइन फिभर मानिसमा सर्छ? 

विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकन स्वाइन फिभर सुँगुर/बंगुर प्रजातिका लागि महामारीजन्य संक्रमण भएपनि मानिसमा भने सर्दैन। तर, यी प्रजातिका जनावरमा स्वाइन फिभरजस्तै अन्य संक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुँगुर तथा बंगुरको मासु राम्रोसँग पकाएर मात्रै खान तथा यिनीहरूसँग अनावश्यक सम्पर्कमा नजान विभागले सुझाएको छ।

कसरी जोगाउने पशु? 

संक्रमण सर्न नदिन घरपालुवा सुँगुर/बंगुरलाई जंगली बँदेलसँग सम्पर्क हुन नदिने जस्ता सावधानी अपनाउनु पर्दछ। 

यस्तै, रोग देखिएका क्षेत्रबाट दाना तथा पाठापाठी ओसारपसार नगर्ने, फार्मको सरसफाइमा ध्यान दिने, रोगी बंगुर, सुँगुरलाई जंगली बँदेलको मासु, सुकुटीको माध्यमबाट पनि सर्नसक्ने भएकाले संक्रमणबाट मरेका जनावरहरूलाई गहिरो खाडल खनेर पुर्ने, तथा अन्य बथानबाट ल्याइएका जनावरलाई २१ दिन क्वारेन्टाइनमा राख्ने अभ्यास गर्न विभागको सुझाव छ।

साथै रेष्टुरेन्टबाट फालिएका खानेकुरा सुँगुर बंगुरलाई नखुवाउन पनि विभागले सुझाव दिएको छ। 

प्रकाशित: Feb 09, 2024| 21:15 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्