काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई कम गर्नका लागि भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार गर्न लागिएको छ। आर्थिक वर्ष २०७९/८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएर यो हेलिपोर्टका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो।
हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। हेलिपोर्टको कालोपत्रे मैदान निर्माण सम्पन्न गरी परीक्षण उडान भएको उनले बताए।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान तथा सञ्चार उपकरणमा हुने व्यस्तता कम गर्ने उद्देश्यसहित भक्तपुरको नलिनचोकमा हेलिपोर्ट बनाउन थालेको हो। यो सञ्चालनमा आइसकेपछि यात्रुले हेलिकप्टर चढ्न समेत सोही स्थानमा पुग्नु पर्नेछ।
यसले केहीहदसम्म काठमाडौंको चाप घढाउन सहयोग पुग्ने झा बताउँछन्। तर, यहाँको ट्राफिक व्यवस्थापन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै टावरबाट हुने छ। हेलिपोर्टका लागि छुट्टै कर्मचारी खटाएर राखिए पनि एउटै सञ्चार सञ्जालबाट हेलिपोर्ट सञ्चालन गर्ने तयारी छ।
परीक्षण उडानको प्रतिवेदन आइसकेपछि यहाँ व्यावसायिक उडानको बाटो खुल्ने उनले जानकारी दिए। अब यहाँ टर्मिनल भवन तथा टावरहरुसमेतका संरचना निर्माणाधीन अवस्थामा रहेको समेत उनले बताए। प्राधिकरणले हेलिपोर्टका लागि १५ करोड र टर्मिनल भवनसहितका संरचना बनाउन १० करोड रुपैयाँ विनियोजन गरेको थियो। यो हेलिपोर्ट बनाउन गत वर्ष साउनमा ठेक्का लागेको हो।
प्रवक्ता झाका अनुसार यस हेलिपोर्टमा अधिकतम २६ वटासम्म हेलिकप्टर बिसान गर्न सक्ने क्षमता रहेको छ। नेपालमा अहिले झण्डै तीन दर्जनको हाराहारीमा हेलिकप्टर रहेका छन्। यी मध्ये सबै काठमाडौंमा मात्र बिसौनी गरेर भने चल्दैनन्। पर्यटकीय सिजनमा लुक्ला केन्द्रित हुने हेलिकप्टरहरु सिमिकोट र पोखरामा समेत बढी उड्ने गर्छन्।
नेपालमा पर्यटकको सुविधा, भीआईपी उडान, आकस्मिक स्वास्थ्य समस्या, प्राकृतिक विपत्ति र विकास निर्माणको सामग्री ओसार–पसारमा हेलिकप्टरको प्रयोग भइरहेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नलिनचोकको ३३ रोपनी क्षेत्रफलमा प्राधिकरणले यी संरचना बनाइरहेको छ। यहाँ इन्धन ट्याङ्की, फायर फाइटिङ सुविधा, हेलिकप्टर कम्पनीका कार्यालय, मर्मतसम्भारका लागि ह्याङ्गरसहितका सुविधा बन्ने प्राधिकरणले यसअघि नै बताएको थियो। यो क्षेत्रमा पहिला देखि नै प्राधिकरणको जग्गा थियो। सोही जग्गामा हेलिपोर्ट बनाइएको हो।