सोमबार, चैत ३०, २०८२

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

म्याग्दी- मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनको परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्।

National life

च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले मंगलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन्। घनमायाले आफ्नो नामबाट एक लाख, दिवंगत श्रीमान् टेकबहादुर पुनको नाममा एक लाख र स्व. छोरी चित्रा घर्तिको स्मृतिमा पचास हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तिमगरले बताए।

घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप पचास-पचास हजार नगद उपलब्ध गराए। घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरेका थिए।

घनमायाका जेठा छोरा-बुहारी दलमान र माया पुनले गत वर्ष पचास हजार सहयोग गरेका थिए। उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई दश हजार सहयोग गरेका थिए। सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए।

चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाअध्यक्ष पुनले बताए। सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएका थिए।

kumari

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लबलगायत संघसंस्थाहरुले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए । विसं २०५५ मा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तिमगरले बताए। कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक सय २७ विद्यार्थी छन् ।

अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार छ सय ४३ संकलन भएको छ। सोही अवसरमा गत वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ। -रासस

प्रकाशित: Dec 27, 2023| 13:46 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्