मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पिपल्स क्याम्पसले मनायो ४२ औं वार्षिकोत्सव

 |  सोमबार, पुस ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौंको पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२ औं वार्षिकोत्सव मनाएको छ। क्याम्पस परिसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो।

triton college

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताए। “नेपालमा साक्षरताको दरको तुलना गर्दा उच्च शिक्षा दिने संस्थाको आवश्यकता अझै देखिन्छ,” डा. थापाले भने, “राजनीतिक संक्रमण पाँच दशकदेखि लम्बिएकाले शिक्षा क्षेत्रमा असर देखिएको हो।”

अहिले काठमाडौं विश्वविद्यालयले भारतमा योगको कक्षा चलाइरहेको र निकट भविष्यमा अस्ट्रेलियाको सिड्नी तथा हङकङमा पनि कक्षा चलाउने तयारी गरिरहेको जनाउँदै डा. थापाले अबका दिनमा विश्वविद्यालयहरु अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धी बन्नुपर्ने आवश्यकता रहेको बताए।

नेपाली विद्यार्थी यहाँको शैक्षिक दुरावस्थाले होइन बरु आर्थिक सुरक्षाका कारण विदेशिएको तर्क गर्दै नेपाली शिक्षा ध्वस्त भएको मान्न नमिल्ने धारणा क्याम्पसका सञ्चालक समिति सदस्य प्राध्यापक डा. त्रिरत्न मानन्धरले राखे। “रोजगारी सिर्जना गर्ने कार्यमा सरकार र शैक्षिक संस्थाले सहकार्य गर्न जरुरी छ,” मानन्धरले भने।

पिपल्स क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले क्याम्पसका कुनै पनि समस्या सामूहिक रूपमा छलफल गरेर समाधान खोज्ने गरिएको बताए। उनले अन्य क्याम्पसको तुलनामा पिपुल्समा विद्यार्थी संख्या उल्लेख्य रहेको दाबी गर्दै अनुसन्धानात्मक शिक्षामा क्याम्पसले जोड दिएको बताए। त्यसका लागि अनुसन्धान सेल नै गठन गरिएको उनले बताए।

Metro Mart
vianet

कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थीले क्याम्पसको भौतिकदेखि शैक्षिक अवस्थासम्म सुधार ल्याउन सबैको महत्त्वपूर्ण भूमिका रहेको बताए। कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले त्यसमा आमूल परिवर्तन भएको भनाइ राखे। ‘क्याम्पस स्थापनाकालदेखि यहाँसम्म आउँदा धेरै उतारचढाब आएका छन्। पानी पर्दा क्याम्पस बिदा गर्नुपर्थ्यो,’ पन्थीले भने।

काठमाडौँ क्षेत्र नं.७ का संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले संघीय शिक्षा ऐनका विषयमा सहभागीहरूसँग सुझाव मागेका थिए। क्याम्पसले दिएको सुझाव आफूले संसदीय समितिमा उठाउने बताए। ‘संघीय शिक्षा ऐन निर्माणका क्रममा छ। यहाँहरूले सुझाव दिनुहोस्। म सम्बन्धित ठाउँमा पुर्याउँछु,’ उनले भने।

बागमती प्रदेश सांसद वसन्त मानन्धरले पनि गुणस्तरीय शिक्षा दिँदै आएको भन्दै पिपल्स क्याम्पसको प्रशंसा गरे। ‘पिपल्स क्याम्पसले गुणस्तरीय शिक्षा दिँदै आएको छ। अभावकाबीच पनि चर्चा बटुल्न सकेको छ,’ उनले भने।

वार्षिकोत्सवमा कार्यक्रमा २५ वर्षभन्दा बढी अध्यापन गराउने प्राध्यापक तथा सेवा गर्ने कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको थियो। त्यसैगरी त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।

२०३८ सालमा स्थापना भएको पिपल्स क्याम्पसमा व्यवस्थापन संकायको पठनपाठन हुँदै आएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पिपल्समा स्नातक र स्नातकोत्तरमा गरी एक हजार ३१० विद्यार्थी अध्ययनरत छन्।

क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले सीमित साधनस्रोतबाट क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। “मुनाफारहित यस क्याम्पसले निरन्तर रूपमा गुणस्तरीय शिक्षा दिँदै आएको छ। यसलाई कायम राख्नेमा हामी विश्वस्त छौं,” उनले भने। कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष निर्मलमणि पन्थी, सहायक क्याम्पस प्रमुख रोजेश पण्डित, क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले मन्तव्य राखेका थिए।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा २०७४ सालको स्नातक तह बिबिए समूहका सर्वोत्कृष्ट विद्यार्थी मिलन श्रेष्ठ, २०७५ की उत्कृष्ट विद्यार्थी पलिस्था शाक्य, २०७४ सालको स्नातक तह बिबिएम समूहका सर्वोत्कृष्ट विद्यार्थी अनिता भट्टराई, २०७५ की उत्कृष्ट विद्यार्थी ग्रिसिका डंगोललाई गुडविल फाइनान्स एन्ड इन्भेस्टमेन्ट लिमिटेडले प्रायोजन गरेको नगद पुरस्कार प्रदान गरिएको थियो। समारोहमा १२ कक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने ज्योतिका शाक्य पनि पुरस्कृत भइन्।

साथै, उत्कृष्ट सबै विद्यार्थीलाई स्व. लक्ष्मीदेवी मानन्धरको स्मृतिमा नगद तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो। त्यस्तै, क्याम्पसमा २५ वर्ष अटुट सेवा गरेका प्राध्यापक डा. गोपालकृष्ण श्रेष्ठ, प्रमोदराज शर्मा, कमल पौडेल, विपिन देव, शंकरनाथ अधिकारी तथा कर्मचारी पुष्पा मण्डल, राजेश पोडेलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: Dec 25, 2023| 18:47 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्