आइतबार, असार १४, २०८३

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

भोजपुर- बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन्। चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजार रुपैयाँले बिक्री भएकाले किसान उत्साहित बनेका हुन्। यस वर्ष चिराइतो बिक्रीबाट १८ लाख रुपैयाँ आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए।

National life

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित
सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी १० हजार रुपैयाँका दरले १० केजी बीउ बेच्न सफल भएको उनले बताए। 'यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ,' राउतले भने, 'चिराइतो र यसको बीउ गरेर १८ लाख रुपैयाँको बिक्री गरेँ। सुरुमा मैले प्रतिमन ४४ हजार रुपैयाँमा बेचेँ। अहिले प्रतिमन ५० हजार रुपैयाँमा गाउँबाटै चिराइतो बिक्री भइरहेको छ।'

यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी संगम राईले बताए। 'यस वर्ष चिराइतोको मूल्य बढेको छ', उनले भने, 'जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको छ। मैले मात्र ३० हजार केजी चिराइतो बाहिर पठाए।'

टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र एक करोड ६५ लाखको चिराइतो उठाएको उनको भनाइ छ। अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन्। विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताए।

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरासहितको भाग नै प्रयोग गर्न सकिने स्थानीय किसानको भनाइ छ। चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य अझ राम्रो हुने किसान देवबहादुर विष्टले बताए। 'यसको महत्व धेरै छ', उनले भने, 'धैरै वर्षको अन्तरालमा चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ। यसले हामी किसानमा थप हौसला मिलेको छ।'

Shivam cement

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउँछ। टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि पकेट क्षेत्रका बनेका छन्।   -रासस

प्रकाशित: Dec 25, 2023| 21:31 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्