मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मर्स्याङ्दी करिडोरमा पर्यटन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गरिँदै

मर्स्याङ्दी करिडोरमा पर्यटन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गरिँदै

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

तनहुँ- मर्स्याङ्दी नदी करिडोरअन्तर्गतका स्थानीय तहले समग्र करिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन्। तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट करिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिक ग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो।

National life

गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएअनुरुप यस करिडोरमा सम्भाव्यता भएका पर्यटकीयस्थल प्रशस्त रहेकाले पहिचान र अध्ययनका लागि अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी करिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले जानकारी दिए। उनका अनुसार करिडोरका पालिकामा पर्ने पर्यटकीय स्थानको अध्ययन गरी एक अर्को पालिकासँग समन्वय र प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

त्रिपाठीले भने, 'एक पालिका एक उद्योग बनाउने सरकारको लक्ष्य एउटै पालिकामा खर्च गर्दाभन्दा समग्र उद्योग सञ्चालन हुँदा सहज र ठूलो उद्योग स्थापना गर्न सकिन्छ। करिडोरभित्रका पालिकासँग समन्वय गरी एक ठाउँमा ठूलै उद्योग सञ्चालन गर्नुपर्छ। साथै पर्यटन प्रवर्द्धनलाई आयआर्जनसँग जोड्न आवश्यक छ। त्यसैले यहाँका प्राकृतिक सुन्दरतालाई आम्दानीसँग जोड्ने हाम्रो लक्ष्य हो।' अहिले पालिकाबाट निस्कने फोहरमैला व्यवस्थापन व्यापक समस्या बनेको भन्दै उनले अहिले पालिकाअनुसार नै फोहरमैला विर्सजन भइरहेको जानकारी दिए।

फोहरमैलाको उचित ढङ्गबाट विर्सजन नभएमा दीर्घकालका निम्ति सुरक्षित र वायुमण्डललाई असर गर्ने भएकाले समयमै यसतर्फ सबै सचेत हुनुपर्नेमा त्रिपाठीले जोड दिए। 'अहिले त सिसाजन्य फोहरमैला वृद्धि हुँदै गएको छ। यसकारण यसको दीर्घकालीन व्यवस्थापन आवश्यक छ', उनले भने, 'करिडोरका स्थानीय तहभित्र सिसाजन्य फोहरमैलालाई दुई वा दुईभन्दा बढी पालिकालाई पायकपर्ने उपयुक्त स्थान छनोट गरी लगानी साझेदारीको माध्यमबाट व्यवस्थापन गर्ने निर्णय भएको छ।'

साथै यस करिडोरअन्तर्गतका पालिकामा ठूला टार प्रशस्त छन्। टार बाँझिने अवस्था बढ्दै गएकाले यी टारको उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भइरहेको संयोजक त्रिपाठीले बताए।

Laxmi sunrise bank
kumari

लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा राईनास नगरपालिकाका प्रमुख  खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा सदस्य रहने गरी मर्स्याङ्दी करिडोर पर्यटन उपसमिति गठन गरिएको छ।

मर्स्याङ्दी नदि करिडोर समन्वय समितिमा हाल तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको बेँसीसहर, सुन्दरबजार र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका समावेश छन्। मर्स्याङ्दी नदी करिडोरअन्तर्गत पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई समावेश गर्नुका साथै यस करिडोरमा पर्ने अन्यपालिकासँग पनि आगामी दिनमा समन्वय र सहकार्य गर्ने निर्णय भएको छ।

करिडोरअन्तर्गतका स्थानीय तहबीच तीन/तीन महिनामा संयुक्त बैठक बस्नेछ। आगामी बैठक फागुन १२ गते बेँसीसहर नगरपालिकामा बस्ने निर्णय भएको समितिले जनाएको छ। रासस

प्रकाशित: Dec 25, 2023| 19:02 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्