काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ हुन्।
उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ। पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि नगरपालिकालाई खबर गरेका थिए। आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए।
विज्ञान शिक्षक श्रेष्ठले दसैंतिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ। त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे लगिएको छ। पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोहीअनुसार अनुसन्धान अगाडि बढेको प्रहरीले बताएको छ।