सोमबार, चैत ३०, २०८२

काभ्रेमा किन घट्दैछ सुन्तला उत्पादन ?

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काभ्रेपलाञ्चोक- यहाँ बर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँदै आएको पाइएको छ। पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञानकेन्द्र धुलिखेलले जनाएको छ।

National life

यस वर्ष पनि उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए। उनका अनुसार रोग-कीराका कारण केही वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशत हाराहारीमा गिरावट हुँदै आएको तथ्यांकले देखाएको छ। केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा बर्सेनि सात हजार मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको थियो।

जिल्लाको करिब एक हजार दुई हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिकरुपमा खेती हुँदै आएको आएको छ। गतवर्ष छ हजार पाँच सय १४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। 'यसवर्ष पनि सुन्तला उत्पादनमा केही प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरेका छौँ', महतले भने। विसं २०७२ को गोर्खा भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा ह्रास हुँदै आएकोे केन्द्रको तथ्यांकले देखाएको छ।

विशेषगरी सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएका धुलिखेल र पनौती नगरका केही क्षेत्रमा यसवर्ष पनि सुन्तला उत्पादनमा गिरावट आउने प्रक्षेपण गरिएको महतले बताए। 'हामीले ती नगरका कृषि शाखाबाट जानकारी लिँदा विगतका वर्षभन्दा कमी नै उत्पादन भएको देखिएको जानकारी गर्नुभएको छ', उनले भने। उनका अनुसार उत्पादनका क्षेत्र बढाइए पनि उत्पादनमा भने कमी आइरहेकाले विशेष अनुसन्धानका लागि सरोकारवाला निकायमा फसल परीक्षणका लागि पठाइएको छ।

सुन्तलामा लाग्ने विविध रोग निराकरणमा किसान र कार्यालयबीच समन्वय नहुँदा समस्या उत्पन्न हुँदै आएको जनाइएको छ। महतले भने, 'किसानले फलका बिरुवा रोपेपछि खासै ध्यान दिएको पाइँदैन, यसकारण विविध रोगले अक्रमण गरेपछि निराकरणमा समस्या उत्पन्न हुन्छ, जसका कारण उत्पादनमा कमी हुँदै जाने हो, अन्य कारण पनि खोज्दैछौँ।'

kumari

यसैबीच विविध रोगका कारण सुन्तला उत्पादनमा आएको गिरावटका कारण जिल्लाका किसान चिन्तित देखिएका छन्। काभ्रेपलाञ्चोकको मुख्य उत्पादनको पकेट क्षेत्र पनौती नगरपालिका-१० पस्थलीका किसान प्रेमबहादुर तामाङले उत्पादनमा कमी हुँदै गएपछि अब सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताए।

'अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुको विकल्प छैन, हामीले यही बगैँचाबाट वार्षिक चार लाख रूपैयाँसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले एक लाख रूपैयाँ पनि पाउन मुस्किल हुने भयो', उनी भन्छन्। विगत केही वर्षदेखि रोगकै कारण सुन्तला उत्पादनमा कमी आएको उनको अनुभव छ। 

यस्तै धुलिखल-१० शङ्खुका किसान शिवप्रसाद आचार्य सुन्तलाको उत्पादनमा कमी आएपछि आयस्रोतको अरु विकल्प खोज्नुपर्ने बाध्यता हुँदै गएको बताउँछन्। उनका अनुसार सुन्तलाका बोट कुहिने, सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुने जस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको हो।

रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि केन्द्रले प्राविधिक सल्लाह तथा आवश्यक औषधि र चुन वितरण गर्ने गरिएको अधिकृत महतले बताए। उनका अनुसार गत वर्षसम्म जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको थियो। यसका कारण बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर झर्ने गर्दछन्।

जिल्लाभर समस्याकैरुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एक/दुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्ने अभियानकैरुपमा लाग्नुपर्ने आवश्यकता देखिएको बताइन्छ। सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको संक्रमण फैलिएको हो।

रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थितरूपले व्यवस्थापन गर्न आवश्यक रहेको सापकोटाको भनाइ छ। 'सुन्तला उत्पादनमा गिरावट हुनु रोग नै प्रमुख कारण हो', महतले भने। काभ्रेपलाञ्चोकको नमोबुद्ध, पनौती, शङ्खु, बल्थली, सारदाबतासे, कुशादेवी, र्‍याले, पस्थली र खरिबोटलगायतका स्थान सुन्तला उत्पादनका पकेटक्षेत्र हुन्।

प्रकाशित: Dec 25, 2023| 05:31 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्