सोमबार, चैत ३०, २०८२

विकासले जोडिँदै भित्री मधेस

करिडोर निर्माणसँगै विकट गाउँमा यातायातको सुविधा पुगेपछि दैनिक उपभोग्य वस्तुका साथै खाद्यान्न कुटानी/पिसानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ।
 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

कञ्चनपुर- डडेल्धुराको भित्रिमधेसअन्तर्गत पर्ने परशुराम नगरपालिका-७ साँदनीका स्थानीय महाकाली करिडोरको ट्र्याक खुलेपछि खुसी भएका छन्। नगरपालिकाको विकट क्षेत्र साँदनी, चन्दनी र कटाल हुँदै महाकाली करिडोर निर्माणले गति लिएपछि यहाँका स्थानीय खुसी भएका हुन्।

National life

करिडोर निर्माणसँगै विकट गाउँमा यातायातको सुविधा पुगेपछि दैनिक उपभोग्य वस्तुका साथै खाद्यान्न कुटानी/पिसानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ। यससँगै दिनभरी पैदल हिँडेर कञ्चनपुरको महेन्द्रनगर तथा डडेल्धुराका बजार जानुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन्।

कञ्चनपुरको ब्रह्मदेव हुँदै महाकाली किनारबाट डडेल्धुराको परशुराम नगरपालिकासम्म हालै ट्र्याक खुलेपछि यातायातका साधन सञ्चालनमा आएका छन्। साथै सडक सञ्जाल विस्तार भएसँगै यहाँको व्यापार/व्यवसायमासमेत टेवा पुगेको स्थानीयको भनाइ छ।

साँदनीका ५३ वर्षीय रामदत्त भट्टले कुनै समय विकट गाउँका रुपमा रहेकामा अहिले करिडोर बनेपछि सहज हुन थालेको बताए। 'दिनभरी जंगलको गोरेटो बाटो हुँदै महेन्द्रनगर र भारतको टनकपुर गएर धान, गहुँ पिसेर ल्याउनुपर्ने बाध्यता थियो', उनले भने, 'बल्ल अहिले आएर व्यवस्था परिर्वतन भएको महसुस भएको छ। करिडोर निर्माणपछि सामान्य कुटानी/पिसानीका काममा समेत सहजता भएको छ।'

भौगोलिक विकटताका कारण विगतमा स्वास्थ्य, सडक पूर्वाधार, विद्युत्, खानेपानीलगायतका अधिकारबाट यहाँका बासिन्दा वञ्चित हुनुपरेको भट्टले बताए। विसं २०२८ मा बैतडीबाट बसाइँ सरी साँदनी आएको भन्दै सडक पूर्वाधार स्तरोन्नति भएसँगै जोगबुढा बजारसम्म पुग्न पनि सहज भएको उनले बताए।

kumari

'बिरामी हुँदा पनि डोकोमा बोकेर महाकाली नदीको तुइँनमा तारेर उपचारका लागि भारत जानुपर्ने अवस्था थियो', भट्टले भने, 'पछिल्लो समय कञ्चनपुरबाट दैजी जोगबुढा, ब्रह्मदेव करिडोर, मलास क्षेत्र र गैरीखानबाट ट्र्याक खुल्दा दैनिकी निकै सहज भएको छ।'

डडेल्धुराको भित्रीमधेस क्षेत्रका नागरिकको सहजताका लागि शीर्षस्थित महाकाली नदीमा मोटेरेवल पुल बनाउने विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल भइरहेको परशुराम-७ का वडाध्यक्ष कर्णबहादुर धामीले बताए। झन्डै ४४ हजार जनसङ्ख्या रहेको जोगबुढामा धार्मिक पर्यटनका थुप्रै सम्भावना रहेको बताउँदै उनले अहिले साँदनी खोलामा पक्की पुल बन्नुका साथै करिडोरअन्तर्गत जोगबुढा क्षेत्रमा ट्र्याक खोल्ने काम जारी रहेको जानकारी दिए।

धामीले दश वर्षअघिसम्म गोरेटो बाटो मात्रै भएका बस्तीमा अहिले कच्ची भए पनि सडक पुगेको बताए। 'अघिल्लो हप्तादेखि ब्रह्मदेव हुँदै सादँनीको बाटो भएर मोटरसाइकल, जीप र ट्र्याक्टर चल्न थालेका छन्', उनले भने, 'करिडोर निर्माण भएसँगै यहाँका अधिकांश वडावासी सडक पूर्वाधारसँग अझ नजिक हुँदैछन्।' कञ्चनपुर आउन विभिन्न सडक ट्र्याक खुलेपछि जोबगुढा, बुडर, अत्तरिया हुँदै महेन्द्रनगर पुग्नुपर्ने बाध्यता हट्दै गएको उनको भनाइ थियो।

'करिडोरबाट २२ किलोमिटर र खैरीखानबाट १८ किलोमिटरमा सुडा पुग्छौं', धामीले भने, 'विद्युतीकरण र शिक्षा क्षेत्रको स्तरोन्नतिलगायत अन्य पूर्वाधार पनि बनेमा यहाँका बासिन्दाको दैनिकी अझ सहज बन्दै जाने थियो।' उनका अनुसार कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म चार सय १३ किलोमिटर सडक करिडोरअन्तर्गत तेह्र वर्षदेखि निर्माणाधीन छ।

पछिल्लो समय नेपाल-भारत र चीनसँगको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत डडेल्धुरामा ३१ किलोमिटर खण्डमा पर्ने छ हजार ९४ रुख कटानको आदेश आउन सकको छैन।

सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्र्याक खोल्न रू पाँच करोड ५० लाखका ठेक्का सम्झौता भएको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले जनाएको छ।

उक्त प्याकेजको ट्र्याक खोल्ने काम सकिएको योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए। कञ्चनपुरको ब्रह्मदेव (शून्य बिन्दु) देखि डडेल्धुराको ३८ किलोमिटरसम्म सडकको ट्र्याक खोलिसकिएको उनले जानकारी दिए। उनका अनुसार करिडोरअन्तर्गत तीन सय ३४ किलोमिटर  योजना कार्यालयले र ७९ किलोमिटर खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ। 

प्रकाशित: Dec 24, 2023| 20:31 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्