सोमबार, चैत ३०, २०८२

इच्छाकामनाका किसानले सुन्तला बेचेर कमाए १० करोड

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

चितवन- सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन्। यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै १० करोड रूपैयाँ आम्दानी लिने भएका हुन्।

National life

गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ। शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट ७५ देखि ९० रूपैयाँसम्ममा सुन्तला बिक्री हुने गरेको छ।

यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ। त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको उनले बताए। गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उनले जानकारी दिए।

उनले भने, 'उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा कम हो, उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएका छन्।' गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो। सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उनले बताए।

उनका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत उत्पादन घटेको छ। गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताए। जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका-२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ। रासस

kumari

प्रकाशित: Dec 24, 2023| 21:31 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्