शुक्रबार, भदौ १९, २०८३

सर्लाहीका चिनी मिलमा उखु क्रसिङ थालियो

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

सर्लाही- सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन्। यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन्। हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन्।

अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन। गत मङ्सिर २६ गतेदेखि चालु यामको उखु क्रसिङको तयारी थालेको इन्दुशङ्करले जिल्लाका उखु उत्पादक किसानले आन्दोलन थालेपछि उखु उत्पादक किसानको आग्रहलाई स्वीकार गर्दै केही समय क्रसिङ रोकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। मङ्सिर २६ गतेदेखि नै उखु क्रसिङ थाल्ने उद्योगको तयारी थियो। 

उखु उत्पादक किसानले राज्यले चालु यामका लागि उखुको मूल्य निर्धारण नगरेको र गत वर्ष उखु बिक्री गरेका उखु उत्पादक किसानलाई दिनुपर्ने अनुदानबापतको रु ५२ करोड हालसम्म पनि भुक्तानी नगरेको भन्दै आन्दोलन गरेका थिए। उखु उत्पादक किसानको सहमतिमा चालु यामको क्रसिङ सुरु गरिएको

प्रबन्धक रजकको भनाइ छ। उनका अनुसार उद्योगले चालु याममा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। उद्योगले गत वर्ष २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। 

यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले पनि उखु क्रसिङ थालेको छ। सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ३५ निर्धारण गरेको छ। मूल्य निर्धारणप्रति उखु उत्पादक किसान असहमत रहेका नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

प्रकाशित: Dec 23, 2023| 20:02 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्