शनिबार, पुस ५, २०८२

अम्रिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

सुनसरी- गत वर्षको तुलनामा यस वर्ष अम्रिसोको भाउ बढेपछि किसान खुसी भएका छन्। धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसो एक सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

National life

गत वर्ष यही समयमा प्रतिकेजी एक सयसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। उनका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश कृषक नगदेबाली छाडेर व्यावसायिकरूपमा अम्रिसो खेतीमा आकर्षित भएका छन्। अम्रिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्।

वर्षमा एकपटक उत्पादन हुने अम्रिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताए। एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्रिसो बिक्री हुने गरेको उनले जानकारी दिए। ओरालो र भिरालो ठाउँमा अम्रिसोको उत्पादन राम्रो हुने उनको भनाइ थियो।

कुनै सयम बिक्री नभएर वस्तुचौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताए। 'केही समय अगाडि प्रतिकेजी ९० रूपैयाँदेखि एक सयसम्ममा बिक्री हुने अम्रिसो अहिले बढेर एक सय ५० रूपैयाँसम्म पुगेको छ', उनले भने, 'उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ।'

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो। 'जुन वर्ष अम्रिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ। अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ', उनले भने। भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उनले बताए।

Laxmi sunrise bank
kumari

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्य वृद्धि भएपछि किसान खुसी छन्। मूल्य बढेसँगै उत्पादित सबै अम्रिसो निकालेर बेच्न सुरु गरिएको व्यापारी राईले बताए। मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उनको भनाइ थियो। रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्रिसो खेतीतर्फ आकर्षित हुन्। 

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्रिसो खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिए। उनका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ। अम्रिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उनको भनाइ थियो।

'अम्रिसोलाई प्रशोधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ। व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ', व्यवस्थापक भट्टराईले भने। यहाँ भारतीय व्यवसायी आफैँ आएर लाने गरेकाले बजारीकरणको समस्या नभएको उनले बताए।

वर्षमा ४५ देखि ५० मेट्रिक टनसम्म अम्रिसो बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए। भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको उनको भनाइ थियो। रासस

प्रकाशित: Dec 23, 2023| 21:31 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्