सोमबार, चैत ३०, २०८२

वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

लमजुङ- जिल्लाका विभिन्न स्थानीय तहका ३९ वडा सचिव नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडा सचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नुपरेको हो।

National life

जिल्लामा चार नगरपालिका र चार गाउँपालिकाका ७५ वडा कार्यालय छन्। यतिका वडामध्ये जम्मा ३६ वडामा मात्र वडासचिव रहेको बताइएको छ। छिटोछरितो सेवा पाउनुपर्ने भए पनि वडासचिव नभएकै कारण सो सेवाबाट बञ्चित हुनुपरेको स्थानीयवासीले गुनासो गर्दै आएका छन्। सरकारले कर्मचारी समायोजन गर्न नसकेका कारण र कर्मचारी सेवासुविधा खोज्दै अन्यत्र स्थल रोज्नाले वडासचिवको अभावमा नागरिकले आफ्नो दैनिक कामकाजका लागि समस्या भोग्नुपरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर गुरुङले बताए। उनले जिल्लाका अधिकांंश वडामा वडासचिव नभएको उल्लेख गरे।

वडासचिव नआउँदा एउटै कर्मचारीले दुई-दुई वडामा काम गर्नुपर्ने बाध्यताका कारण नागरिकले पाउनुपर्ने छिटोछरितो सेवासुविधामा समस्या भइरहेको उनले बताएका छन्। वडासचिव नहुँदा स्वास्थ्य तथा पशुका कर्मचारीलाई सचिवको काममा खटाइए पनि सचिवको जस्तो काम भने नहुने उनको भनाइ छ। 

ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृत्ति छ। केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडासचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। 


बेँसीसहर नगरपालिका–११ चितीका ईश्वरराज सेढाईंले भने, ‘वडासचिव नहुँदा एउटै कामकाजका लागि एक दिन खर्चेर वडाको काम नगरपालिका पुगेर गरेर आउनुपर्छ। हस्ताक्षरलगायत केही काम बिग्रियो भने फेरि एक दिन जान र एक दिन वडामा काम गर्न समय लाग्ने हुँदा स्थानीयवासीलाई धेरै समस्या भइरहेको छ।’

kumari

बेँसीसहर नगरपालिका-११ का वडाध्यक्ष शिव जोशीले वडासचिव नहुँदा नागरिकलाई वडाकार्यालय आउन र जान दुःख मात्र हुने गरेको बताउँछन्। दश महिनादेखि वडासचिव नहुँदा नागरिकले धेरै दुःख पाइरहेको र वडाको कामका लागि नगरपालिकाको कर्मचारीलाई तोकिए पनि वडासचिवको हस्ताक्षर तथा पञ्जिकरणको कामका लागि वडाबाट पालिका जानुपर्ने बाध्यता भएको उनको भनाइ छ। 

नागरिकले पालिका जान र आउनका लागि गाडी भाडा पाँचदेखि छ सय रुपैयाँ खर्च गर्न बाध्य हुँदै आएको जानकारी दिँदै वडाध्यक्ष जोशीले सामान्य काम वडाको सहयोगीबाट गर्दै आए पनि विवाह, जन्मदर्ता, मृत्युलगायत कामका लागि अनिवार्य पालिकामा जानुपर्ने बाध्यताले वडा सचिवको माग गर्दै आए पनि हालसम्म वडासचिवविहीन कार्यालय भइरहेको बताए।

क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले यस पालिकाको अधिकांश वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको बताएका छन्। वडा सचिव नहुँदा पालिकाभित्रकै आन्तरिक कर्मचारीलाई खटाएर काम गराइरहेको उनको भनाइ थियो। वडा सचिव हुँदा र अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा फरक परे पनि केही भए पनि समस्या समाधान  भएको अध्यक्ष गुरुङले बताए।

प्रकाशित: Dec 22, 2023| 14:40 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्