सोमबार, चैत ३०, २०८२

संस्कृतमा शपथ लिएपछि चर्चामा छन् यी मुस्लिम विधायक

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

भारतको राजस्थान विधानसभामा मुस्लिम समुदायका दुई जना विधायकले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्।

National life

संस्कृतमा शपथ लिएका एक जना कांग्रेसका जुबैर खान हुन् भने अर्का स्वतन्त्र निर्वाचित भएका युनुस खान हुन्। युनुस बीजेपीविरुद्ध विद्रोह गरेर स्वतन्त्र रूपमा निर्वाचित भएका थिए।

राजस्थान विधानसभाका २०० सिटमध्ये १९९ सिटमा चुनाव भएको थियो। जसमध्ये १९१ जना विधायकले २० डिसेम्बरमा विधानसभामा शपथ लिए। आठजना विधायकले २१ डिसेम्बरमा शपथ लिएका थिए।

कांग्रेस विधायक जुबैर खान अलवरको रामगढ क्षेत्रबाट विजयी भएका हुन्। जुबैर खानकी पत्नी सफिया जुबैर खान यसअघि विधायक निर्वाचित भएकी थिइन्। यस पटक कांग्रेसले उनका पति जुबैर खानलाई टिकट दिएको थियो। उनी चौथो पटक विधायक निर्वाचित भएका हुन्।

अशोक गहलोत सरकारमा कांग्रेस विधायक हुँदा उनकी पत्नी सफिया जुबैर खानले विधानसभामा एउटा छलफलमा आफूलाई राम र कृष्णको वंशजको रूपमा चर्चा गरेकी थिइन्। संस्कृतमा शपथ लिने स्वतन्त्र विधायक युनुस खान वसुन्धरा राजेको सरकारमा मन्त्री थिए।

kumari

राजेका समर्थक मानिने युनुस खानले गत विधानसभा चुनावमा सचिन पायलटविरुद्ध टोंक क्षेत्रबाट चुनाव लडेका थिए। संस्कृतमा शपथपछि चर्चामा रहेका युनुस खानले बीबीसीसँग भने, 'मुस्लिमहरूले पनि अहिलेको परिस्थितिमा राम्रो काम गरेको भन्दै यसको धेरै प्रशंसा गरे। भारतीय संविधानको आठौँ अनुसूचीमा रहेको आधिकारिक भाषाहरूमध्ये संस्कृत पनि एक हो। यो हाम्रो भारतको सबैभन्दा पुरानो भाषा हो।'

संस्कृतको इतिहास वर्णन गर्दै खानले भने, 'वेद, पुराण र रामायण संस्कृतमा लेखिएका छन्। संस्कृत हाम्रो भारतका सबै भाषाहरूको जननी हो र म भारतीय हुँ। संस्कृत हाम्रो देशको सबैभन्दा धनी र पुरानो भाषा हो, मैले संस्कृतमा शपथ लिएकोमा गर्व महसुस गरेको छु। शपथ लिनका लागि हामीसँग तीनवटा विकल्प थिए। अङ्ग्रेजी, जुन ब्रिटिशको भाषा हो। बाँकी हिन्दी र संस्कृत थिए।'

संस्कृतमा नै शपथ किन त? यो प्रश्नमा खान भन्छन्, 'मैले संस्कृतमा किन उपयुक्त ठाने भने हाम्रा पुराना कुराहरू बिस्तारै लोप हुँदै गइरहेका छन्, यदि हामीले यसलाई अपनाएनौँ भने कसले लिने? संस्कृत हाम्रो भारतीय भाषा हो।'

चौथो पटक विधायक बनेका जुबैर भन्छन्, 'सन् १९९३ मा म दोस्रो पटक विधायक बनेको बेला पनि मैले संस्कृतमा शपथ लिएको थिएँ। त्यतिबेला अहिलेको भाजपाको पूर्ण रूपमा उदय समेत भइसकेको थिएन। संस्कृत हाम्रो पुरानो भाषा हो। हामी भारतका भारतीय मुस्लिम हौँ, हामी यहाँको संस्कृति र यहाँको संविधानमा विश्वास गर्छौँ। हामी यहाँ भाइचारामा विश्वास गर्छौँ, हामी सबै धर्मलाई सम्मान गर्छौँ।'

विधानसभामा २० भाजपा, एक स्वतन्त्र र एक कांग्रेस विधायकले संस्कृतमा शपथ लिएका छन्। राष्ट्रिय स्वयंसेवक सङ्घको विचारधारालाई समर्थन गर्ने संस्था संस्कृत भारतीका जयपुरका राज्यमन्त्री डा. कृष्ण कुमारले आफ्नो सङ्गठनले नवनिर्वाचित विधायकहरूलाई भेटेर संस्कृतिअनुसार शपथ लिन आग्रह गरेको बताए।

उनले भने, 'हामीले हाम्रा अभियानकर्मीहरूको टोली बनायौँ र धेरै विधायकहरूलाई सम्पर्क गर्यौँ। हामीले उनीहरूलाई संस्कृतमा शपथ लिन अनुरोध गर्यौँ। हामीले बालमुकुन्द आचार्य, गोपाल शर्मालगायत धेरै विधायकहरूसँग सम्पर्क गरेका थियौँ।' 

प्रकाशित: Dec 22, 2023| 13:19 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्