प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्।
शुक्रबार सुनसरीमा इनरूवा सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि अर्को क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।
उनले भने,‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु। म साँच्चै क्रमभंग गर्दैछु।’प्रधानमन्त्री प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताए।‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ। घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्,’ उनले भने।
प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए। उनले देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्नका लागि सरकारले केही दिनअघि मात्र विद्युत खपत वृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषदबाट पारित गरेको उल्लेख गरे। यसले विद्युत खपत बढाउन ठूलो दिशानिर्देश गरेको उनको भनाइ थियो।
प्रधानमन्त्रीले नदीबाट विद्युत उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए। ‘वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो। नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युतको अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ। यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ,’ उनले भने।