बुधबार, पुस २, २०८२

बचतले मुहार फेर्दै मुसहर महिला

समुदायमा आफ्नो झुपडीलाई बोराले बेरेर बस्नुपर्ने बाध्यता थियो भने जमिन धितो राखेर ऋण पाउन पनि उनीहरूलाई सकस हुन्थ्यो।
 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

सिरहा- ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका तराईका मुसहर अहिले सामूहिक बचतले गर्दा आत्मनिर्भर हुँदै गइरहेका छन्। समुदायमा आफ्नो झुपडीलाई बोराले बेरेर बस्नुपर्ने बाध्यता थियो भने जमिन धितो राखेर ऋण पाउन पनि उनीहरूलाई सकस हुन्थ्यो, अझ त्यसमाथि गाउँमा पिल्सिएर बसेका मुसहर महिलाको अवस्था झन दयनीय थियो।

National life

धनगढीमाई नगरपालिका–१२ आहालेका मुसहर महिला अहिले गाउँमै समूह बनाएर आत्मनिर्भर बन्दै गएका हुन्। उनीहरु महिना/महिनामा समूहमा पैसा जम्मा गर्छन्। काम परेको समयमा त्यही समूहबाट बिना धितो ऋण लिई आम्दानी भएपछि  तिर्छन्। 'समूह गठन भएदेखि हामीलाई छोराछोरी पढाउन र बिरामी परेको बेला उपचार गराउन सहज भएको छ', दुर्गा महिला छलफल केन्द्रका अध्यक्ष भुटी सदायले भनिन्, 'आफूले नपढे पनि छोराछोरीलाई विद्यालय पठाइरहेका छौँ। स–साना कामका लागि हामी समूहकै पैसा लिएर काम चलाउने गर्छौं।'

नागरिकता, बालविवाह, गरिबी, स्वास्थ्य र शिक्षामा उचित पहुँच र समान सहभागिता नभएको यस बस्तीका मुसहर महिलालाई आत्मनिर्भर हुन त्यति सहज थिएन। तर एक्सन–एड नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब लहान शाखाले स्थानीय अधिकार कार्यक्रमअन्तर्गत यहाँका महिलालाई समूह बनाएर तरकारी खेती, बाख्रापालन, बचत र अधिकारका विषयमा सचेत गराइरहेको छ।

उक्त संस्थाले घुम्ती कोष स्थापनाका लागि २५ हजार, बाख्रापालनका लागि बाख्रा र आयआर्जनका लागि समूहमा सिटी रिक्सा, खानेपानीका लागि ट्यांकीलगायत सहयोग गरेको छ। समूहमा आबद्ध महिलाले मासिक सय नियमित बचत गर्ने गरेका छन्। 

समूहकी सदस्य झबरी सदायले पाँच हजार ऋण लिएर तरकारी खेती लगाई नियमित आम्दानी गरिरहेकी छन्। 'महिनाको ५ गते नियमित बैठक बसेर हाम्रो समस्याबारे छलफल गर्ने गरेका छौँ। समस्या सामाधानका लागि सामूहिक रुपमा एक अर्कालाई सरसहयोग गर्ने गरेका छौँ', उनले भनिन्, 'बाख्रा पालनबाट ३०/३५ हजार घरैपिच्छे आम्दानी गर्न सफल भएका छौँ। समूहले पाएको सिटी रिक्साले गाउँका बिरामीलाई पनि अस्पताल पुर्‍याउन सहयोग भएको छ।' 

Laxmi sunrise bank
kumari

'गाउँमा कोही बिरामी पर्दा संस्थाले उपलब्ध गराएको निःशुल्क सिटी रिक्साबाट नजिकको अस्पतालसम्म पुर्‍याउने गरेका छौँ। यहाँका २२ घरका महिला समूहमा आबद्ध छन्। संस्थाको २५ हजार सहयोग र हामीहरुको बचतले ८९ हजार पुगेको छ', सोही समूहकी सिवर्ती सदायले भनिन्, 'हामीलाई समस्या पर्दा समूहमै छलफल गर्छौं। ज्याला बढाउन आन्दोलन पनि गर्‍यौं। हाम्रो ज्याला पनि बढेको छ तर, महिला र पुरुषबीच ज्यालामा अहिले पनि पूर्ण रुपमा विभेद हट्न सकेको छैन। समूहमा आबद्ध भएदेखि बानी व्यवहारमा परिवर्तन आएको महसुस भएको छ।'

आधारभूत आवश्यकता परिपूर्ति र अन्य सामाजिक कामका लागि साहुसित ऋण लिनुपर्ने र सो ऋणको साँवासहित चर्को ब्याज तिर्नुपर्ने अवस्थाले गर्दा एक पुस्ताले चुक्ता गर्न नसकेको ऋण अर्को पुस्ताले तिर्नुपर्ने अवस्थासमेत देखिएकाले थोरै भए पनि आर्थिक सहयोग गरेर उनीहरुको जीविकोपार्जन सहज होस् भनेर पहल गरिएको दलित जनकल्यण युवा क्लबका अध्यक्ष उमेश विसुन्केले बताइन्।    -रासस

प्रकाशित: Dec 22, 2023| 08:41 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्