शनिबार, पुस ५, २०८२

हमास र इजरायलबीच पुन: युद्धविरामको पहल

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

केही दिनयता इजरायल र हमासबीच अर्को युद्धविरामका लागि प्रयास तीव्र भइरहेको छ। इजरायलले गाजामा जारी राखेको बमबारी रोक्ने र हमास तथा इजरायलबीच पुनः बन्धक रिहासम्बन्धी सम्झौताको वार्ताका लागि हमासका नेता बुधबार इजिप्ट पुगेका छन्। 

National life

कतारस्थित हमासको सम्पर्क कार्यालयमा रहेका हमास प्रमुख इस्माइल हनिया गाजापट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो पुगेको उक्त समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले इजिप्टका गुप्तचर प्रमुखसँग आक्रमण र युद्ध रोक्न र बन्धकको रिहाइका लागि सम्झौता तयार गर्न वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इजिप्टको भ्रमण गरेका हुन्। उता बन्धक छुटाउन आवश्यक पहल जारी रहेको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन्। नेतन्याहुले बन्धकका परिवारजनसँग कुरा गर्ने क्रममा बन्धकलाई रिहा गर्ने विषयमा छलफलका लागि देशका गुप्तचर प्रमुखलाई दुईपटक युरोप पठाएको जानकारी दिए।

‘यो हाम्रो कर्तव्य हो, सबै बन्धकको रिहाइका लागि म जिम्मेवार छु,’ नेतन्याहुले हमासको बन्दी रहेका १२९ जनामध्ये केहीका आफन्तसँगको कुराकानीमा भनेका छन्, ‘तिनीहरूलाई बचाउनु हाम्रो अहिलेको सबैभन्दा ठूलो काम हो। यसमा कुनै कसर बाँकी राख्नेछैन र हाम्रो कर्तव्य ती सबैलाई फिर्ता ल्याउनु हो।’

मोसादका प्रमुख डेभिड बार्नेयाले सिआइएका निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीसँग युरोपमा भेटवार्ता गरेका थिए। इजिप्ट र संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त कतारले नोभेम्बरमा हमास–इजरायलबीच एक हप्ता लामो युद्धविराम गर्न सहयोग गरेको थियो।

Laxmi sunrise bank
kumari

त्यसबेला २४० प्यालेस्टिनी कैदीहरूको बदलामा ८० इजरायली बन्धकलाई मुक्त गरिएको थियो भने अन्य मुलुकका केही नागरिक पनि मुक्त भएका थिए। भर्जिनियाबाट प्रकाशन हुने समाचार संस्था ‘एक्जिओस’ले इजरायलले हमासले बन्धक बनाएका तीन दर्जनभन्दा बढीको बदलामा कम्तीमा एक हप्ताका लागि युद्ध स्थगन गर्ने प्रस्ताव गरेको पनि जनाएको छ।

गत अक्टोबर ७ मा हमासका लडाकुले गाजाबाट एक्कासि जल, स्थल र हवाईमार्गबाट इजरायली क्षेत्रमा सुरु गरेको आक्रमणमा करिब एक हजार १४० व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई अपहरण गरिएको इजरायलले जनाएको छ। 

त्यसपछि इजरायलले हमासलाई ध्वस्त पार्ने वाचा गर्दै गाजा क्षेत्रमा गरेको भीषण बमबारीबाट १९ हजार ६६७ को मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। हताहत हुनेमा अधिकांश महिला र बालबालिका छन्। 

प्रकाशित: Dec 21, 2023| 08:27 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्