सोमबार, असार १५, २०८३

एक महिनामा आउला त मेलम्चीको पानी काठमाडौं ?

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ। आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

National life

आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौँका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो। समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ।

‘सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ। अबको २८ दिनको दु्रत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ’, प्रवक्ता पन्तले भने।

पथान्तरण पश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ।

गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो। गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताए। 

Shivam cement

प्रकाशित: Dec 20, 2023| 20:02 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्