मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट नेपाल पसेका ३६ हात्ती नफर्किएपछि झापा, मोरङ र सुनसरीमा त्रास 

भारतबाट नेपाल पसेका ३६ हात्ती नफर्किएपछि झापा, मोरङ र सुनसरीमा त्रास 

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

झापा- डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी सीमानाका हुँदै नेपाल प्रवेश गरेका ३६ जंगली हात्तीका कारण कोसी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन्। झापा, मोरङ र सुनसरी क्षेत्रका जंगलमा विचरण गर्दै आएका ती हात्तीबाट जिउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ।

National life

एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ। मेचीनगर नगरपालिका–४ का हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेलका अनुसार गएको कात्तिक ३ गते बाहुनडाँगीको सीमाक्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए।

हात्तीको बथानमा छावा पनि छन्। ती हात्ती हालसम्म नफर्किएको उनले बताए। हिउँदयाममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेको छ। लुइँटेलका अनुसार, त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए। उनका अनुसार, चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिन्छ।

मोरङको कानेपोखरी जंगल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरू भारततिर नफर्किएको अनुमान गरिएको छ। सडकछेउछाउ र बजारमा पोलेर बिक्रीका निम्ति सो क्षेत्रमा बेमौसमी मकैको खेती गर्ने गरिएको छ।

kumari

बेलबारी नगरपालिका–८ र १० का किसानले ठूलो क्षेत्रफलमा मकैखेती लगाएका छन्। 'मकै हात्तीले असाध्यै मन पराउँछ,' डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, 'मोरङको अन्य पालिकाभन्दा यहाँ मकैखेती प्रशस्त हुने गरेको छ। हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ।'

उनले बिहान–बेलुका हिँड्डुल गर्दा र जंगल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन्। वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन।

गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्र भारत फर्किएको हात्तीको गणना र अध्ययन समेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए। भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जंगलमा छारिएर रहेको उनको भनाइ छ। उनले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जंगलभित्र रहेको दाबी गरे। 

प्रकाशित: Dec 16, 2023| 18:20 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्