शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आँधीमूलनमा १० हजार भक्तजन, काठमाडौंको आन्दोलनले विशङ्खुनारायण मेला प्रभावित

आँधीमूलनमा १० हजार भक्तजन, काठमाडौंको आन्दोलनले विशङ्खुनारायण मेला प्रभावित

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

तनहुँ- तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा आज एकैदिन दश हजार भक्तजनले पूजाआजा गरेका छन्। आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन पुगेका हुन्। 

त्यसक्रममा २५ भन्दा बढी फूलको तोरण आँधीमूलमा टाँगिएको छ। यहाँ प्रत्येक वर्ष फूलको तोरण तार्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्।

स्थानीय मनोज बाँस्तोलाका अनुसार तनहुँसहित छिमेकी गोरखा, चितवन, लमजुङका विभिन्न ठाउँबाट भक्तजन आँधीमूल आएका थिए। उनले भने, 'बिहानैदेखि भक्तजनको आगमन उल्लेख्य रह्यो। यस ठाउँको धार्मिक महत्वका कारण एकादशीमा विशेष मेला लाग्ने गर्दछ।'

मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजारौ भक्तजनको आगमन हुने मन्दिरका पुजारी युवराज मास्की मगरले बताए।  

आँधीमूलमा रहेको माछाको विशेष महत्व छ। मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो। जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ। पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी मगरले बताए।

मन्दिर परिसरमा रहेका माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा विनियोजित बजेटबाट आँधीमूल मन्दिर रहेको नजिकको पोखरीको माछा संरक्षणका लागि तारबार गरिएको हो। दुई वटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जाली सहितको रेलिङ निर्माण गरिएको छ। 

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो। परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलि आएको छ। जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन्।

पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ। पृथ्वी राजमार्गको सत्रसयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ। हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ। 

आँधीमूलस्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढा–टाढादेखि आउने गर्छन्। यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ। आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ। 

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ। यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ। 

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ। प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन्। 

एकादशीको अवसरमा व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी महादेव मन्दिरमा १७ तोरण तारिएको स्थानीय लक्ष्मी गुरुङले जानकारी दिए। त्यस्तै व्यास नगरपालिकास्थित सेतीमादी सङ्गमस्थलमा पाँच वटा फूलको तोरण तारिएको छ। 

दमौलीस्थित मादीसेतीको दोभानमा विभिन्न ठाउँबाट आएका सर्वसाधारणले फूलको तोरण तारेका छन्। विभिन्न ठाउँबाट ल्याइएको फूलको डोली सहितको तोरण व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारमा तारिएको छ। फूलको डोली सर्वसाधारणले बाजागाजा सहित दमौली ल्याएका थिए।

रेसुङ्गामा दिनभर श्रद्धालुको घुइँचो

यसैबीच, हरिबोधनी एकादशीको अवसरमा गुल्मीको पवित्र धार्मिक स्थल रेसुङ्गामा आज दिनभर श्रद्धालुहरुको घुँइचो लागेको थियो। विगतको तुलनामा यस पटक हजारौं श्रद्धालु पूजाआजाका लागि बेलुकी अबेरसम्म पनि रेसुङ्गा क्षेत्रमा पुगेका थिए। हरिवोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशाला मन्दिरमा पुग्ने मानिसको चाप पनि उत्तिकै थियो। 

रेसुङ्गामा जङ्गलको बिचमा रहेको पोखरीमा स्नान गर्न र पूजाआजा गर्न  बिहानैदेखि गुल्मी लगायत पाल्पा वाग्लुङ्ग, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाबाट धेरै मानिस यस क्षेत्रमा आउने गर्दछन्। हरिवोधनी एकादशीको दिन रेसुङ्गा पोखरीमा स्नान गर्नाले मानिसलाई चारधाम जान नपर्ने र आफुले अञ्जानमा  गरेका सम्पूर्ण पाप नष्ट भई सम्वृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। 
मनोकामना पुराहुने धार्मिक विश्वासका कारण रेसुङ्गा पोखरीमा वर्षेनी स्नान गर्न आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ। परापूर्व कालदेखि पोखरीमा चारधामबाट ल्याएको जल राखिएको मान्यता रहिआएको हुँदा श्रद्धालु पोखरीमा स्नान गरेपछि यज्ञशाला मन्दिरमा पुगेर पूजाआजा गर्ने गर्दछन्। त्रेता युगमा राजा दशरथलाई पुत्र नभएपछि यसै स्थानमा आएर पुत्रेष्टी यज्ञ गरेपछि राजा दशरथलाई पुत्रलाभ भएको भन्ने धर्मशास्त्रमा  उल्लेख गरिएको छ। 

रेसुङ्गामा पुग्नका लागि यसपटक सदरमुकाम तम्घासदेखि रेसुङ्गा पोखरीसम्म सडक कालोपत्रे भएको छ। पक्की सडकको सहज रुपमा पहुँच भएपछि बालबालिकादेखि बृद्धबृद्धासम्म यातायातको माध्यमवाट सजिलै रेसुङ्गा पुग्छन्। पोखरी क्षेत्र र मन्दिर परिसर भित्र रेसुङ्गा संरक्षण समितिले व्यापारीलाई माछामासु र मादक पदार्थ बिक्रीक वितरणमा रोक लगाएको छ।

त्यसैगरी गुल्मीको पवित्र धार्मिक स्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि आज बिहानैदेखि नदीमा स्नान गर्ने पूजापाठ गर्ने श्रद्धालु भक्तजनको दिनभर घुइँचो लागेको थियो। गुल्मी, पाल्पा र स्याङ्जा गरी तीन जिल्लाको सङ्गम स्थल मानिने कालीगण्डकीमा स्नान गरेपछि मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यताका कारण हरिबोधिनी एकादशीमा श्रद्धालुको बाक्लो उपस्थिति हुने गरेको हो । 

 विशङ्खुनारायणको मेला प्रभावित

यसैबीच गोदावरीस्थित विशङ्खुनारायण मन्दिरमा प्रत्येक वर्ष लाग्ने हरिबोधिनी एकादशी मेला प्रभावित भएको छ। काठमाडौँमा आज भएको प्रदर्शनले मेला  प्रभावित भएको हो।

यस वर्ष हरिबोधनी एकादशीमा २५ हजार दर्शनार्थी आउने अनुमान गरिएकामा  लगभग १० हजारमात्र आएको विशङ्खुनारायण मन्दिर व्यवस्थापन समितिका  कोषाध्यक्ष महेश सुवेदीले जानकारी दिए। 
 
नेपाली कांग्रेसका  नेता एवं सांसद उदयशम्शेर राणाले हरिबोधिनी एकादशीका अवसरमा आज विशङ्खुनारायण मन्दिरलाई नगद रु १० हजार चन्दा दिनुभएको उनले बताए।

प्रकाशित: Nov 23, 2023| 19:30 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्