आइतबार, वैशाख २८, २०८२

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

 |  शुक्रबार, मंसिर १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

vianetvianet

महोत्तरी- मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित छन्। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दै छन्। त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरेका हुन्। निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थालिने परम्परा छ।

triton college

छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदै छन्। छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिंगारिएका छन्। पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ। पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत संकल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ। पर्वले घर–घरमा व्यस्तता बढाएको छ। 

श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ। यी परिकार पकाइन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ। पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन्।

हिजो बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।

बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ। यो व्रत यसपालि पर्सी आइतबार सम्पन्न गरिने छ। यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ। यसपालि  छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिनेछ।

National life insurance

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन्। सबैजसो घाटमा रातभर जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन्।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै  बनिसकेको छ। पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन्। जन–जन परिचालित हुने यो लोकपर्व मिथिला संस्कृतिको अभिन्न अंगका रूपमा स्थापित भएको देखिन्छ। रासस

प्रकाशित: Nov 17, 2023| 08:00 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्