बिहीबार, वैशाख १०, २०८३

दसैं-तिहारमा समातिएका ६७ जुवाडेलाई टीका लगाउने छुट 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- ललितपुर प्रहरीले दसैँ र तिहारमा जुवातास खेल्ने ६७ जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ परेकाहरूबाट ३३ लाख २२ हजार १३५ रुपैयाँ बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

National life

चाडपर्वको अवसरमा मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसएसपी शाहको भनाइ छ।

'हामीले आफ्नै घरमा मनोरञ्जनको लागि तास खेल्नेहरूलाई पक्राउ गरेका होइनौं। पैसा हारजित हुनेखालका जुवातास नियन्त्रण गरेका हौँ,' शाहले भने। यसरी पक्राउ परेकाहरूमा ५१ जना पुरुष र १६ जना महिलासमेत छन्। उनीहरूलाई ललितपुर प्रहरीले जुवाविरुद्ध मुद्दा चलाएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद गरेको छ। ललितपुर प्रहरीले तिहारमा पक्राउ परेका जुवाडेहरूलाई भने दिदीबहिनीको हातबाट टिका लगाउन छुट दिएको छ। अघिल्लो दिन पक्राउ परेका आठजनालाई भाइटिकाको दिन टिका लगाउन घर फर्काएको हो।

जिल्ला प्रशासनको निर्णयअनुसार नै पक्राउ परेकाहरूलाई मुद्दा चलाएपनि पछि हाजिर हुने गरी छोडिएको हो। प्रहरीले प्रमाण नष्ट नहुने प्रकृतिको मुद्दामा हाजिर जमानीमा छोड्नु सामान्य प्रकृया भएको उनले बताए।

kumari

एसएसपी शाहले भने, 'तिहारअघि नै हामीले यो निर्णय गरेका हौँ। जुवातासमा पक्राउ पर्नेहरूलाई दिदीबहिनीको हातबाट लगाउने टिका नछुटोस् भन्ने हो। त्यहीँअनुसार गरेका हौँ। तर, उनीहरूलाई छोडेपनि जुवा मुद्दामा भने दर्ता गरेका छौं।' 
 

प्रकाशित: Nov 16, 2023| 17:05 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्