नेपालीमा एउटा आहान छ- पाप धुरीबाट कराउँछ। यसको अर्थ कसैले कुनै अपराध वा कुकर्म गर्छ भने त्यसको सजाय उसले भोग्नैपर्छ। अपराध सधैंका लागि लुक्दैन, ढिलोचाँडो पर्दाफास हुन्छ नै।
चितवनमा यस्तै भएको छ।
१९ वर्षअघि आफन्तको हत्या गरेर फरार भएका व्यक्ति गेरू वस्त्र धारण गरेको साधुको भेषमा पक्राउ परेका छन्। २०६१ मंसिर १४ गते राति भरतपुरमा हत्या गरेर फरार भएका ४३ वर्षीय तोयानाथ चापागाईंलाई प्रहरीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट पक्राउ गरेको हो।
बर्दघाट बजारदेखि केही पर बाढीपीडित भन्ने ठाउँबाट तोयानाथ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। तोयानाथले भरतपुर–७ कृष्णपुर घर भएकी मनकुमारी वाग्लेको हत्या गरेको जाहेरी प्रहरीमा परेको थियो। मनकुमारी तोयानाथकी सौतेनी आमाकी आमा हुन्। तोयानाथ बेला–बेलामा उनीहरूको घरमा गइरहन्थे। तोयानाथले घरमा एक नाबालक मात्रै रहेको मौका छोपेर सौतेनी हजुरआमा नाता पर्ने ६५ वर्षीया मनकुमारीको हत्या गरी कानमा लगाएको सुनको मारवाडी लिएर भागेका थिए।
सुमित्रा मंसिर १३ गते छोरीलाई लिएर माइती पदमपुर गएपछि घरमा सासू मनकुमारी र सात वर्षीय छोरा सुवास मात्रै थिए। १४ गते साँझ साविकको मेघौली गाविस–३ जीतपुर (हालको भरतपुर महानगरपालिका–२८) घर भएका कृष्ण नामले चिनिने २५ वर्षीय तोयानाथ साइकल चढेर मनकुमारीको घरमा आइपुगे। उनले बेलुकी खाना खाएर सुतेकी मनकुमारीलाई ढुंगा र बाँसको लौरोले टाउकोमा हानी हत्या गरेको सुमित्राले दिएको जाहेरीमा उल्लेख छ।
प्रहरीले अहिले शिव मन्दिर नजिकै साधुको भेषमा बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। बयानका क्रममा तोयानाथले मदिरा सेवन गरेर मनकुमारीको हत्या गरेको स्वीकार गरेका छन्।