चितवन- पुर्खौंदेखि खोला र वनजंगलको भरमा जीविकोपार्जन गर्दै आएको बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छ। चितवनको माडी नगरपालिका– १ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजंगलको विकल्पको खोजीमा जुटेका हुन्।
खोलानाला र वनजंगलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनुपरेपछि उनीहरूले वैकल्पिक पेसाको सुरुवात गरेका छन्। वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदाय होमस्टे (घरवास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेकाे छ। उनीहरूले ०७७ देखि १० वटा बोटे होमस्टे र चार सामुदायिक माछापोखरी बनाएका छन्। अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउँछन्।
उनले भने, ‘अहिले पहिलाको जस्तो वनजंगल र खोलामा आश्रित हुनुपरेको छैन।’ कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताए। होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर रु. ६०–७० हजार कमाइ हुँदै आएको उनले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जले ०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो। तालिमपछि यो समुदायले बोटे परिकार खुवाउन होमस्टे सञ्चालन गरेको लालुमाया बोटे बताउँछिन्। जंगल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उनले बताइन्। उनले भनिन्, ‘पहिला हामी ६ महिना खेतीपाती गरेर खाए ६ महिना जंगल र खोलानालामा गएर गुजरा चलाउनुपर्थ्याे। होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ ।’ अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उनले जानकारी दिइन्।
बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ। होमस्टे सञ्चालनमा आएसँगै पहिलाको जस्तो खोला र जंगलमा निर्भर हुनु नपरेको विका बोटे बताउँछन्। खोलानालामा र वनजंगलमा जाँदा वन्यजन्तुको आक्रमणबाट परिवार गुमाउनुभन्दा अर्को विकल्प खोज्नु उत्तम भएकाले होमस्टे सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अहिले होमस्टे सञ्चालनमा ल्याएर गुजारा चलाउन थालेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम भएको बोटेले बताए। उनले भने, ‘हामी भनेको वनजंगल र खोलानालाको पनि संरक्षण गर्ने जाति हो।’
बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जंगल जानेलगायतका काम कम हुँदै आएको बताउँछन्। उनका अनुसार अहिले बोटे समुदायले होमस्टे सञ्चालन, सामूहिक माछापालन, बाख्रापालन, खेती–किसानीलगायतका काममा लागेर खोला र वनजंगल छोडेका हुन्। उनले भने, ‘खोलामा गएर माछा मार्ने, जंगलमा गएर न्युरो, तामालगायत ल्याएर बेच्नुभन्दा यही जग्गा भाडा तथा ठेक्का लिएर खेतीपाती गर्ने गरेका छन्।’ वैदेशिक रोजगारीमा समेत जाने प्रचलन यो समुदायमा बढ्न थालेको बोटेले जानकारी दिए।
माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतो होमस्टे सञ्चालन र माछापालनसँगै उनीहरूको जीवनस्तरमा केही सुधार आएको बताउँछिन्। उनले होमस्टे निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिइन्। उनले भनिन्, ‘उनीहरूलाई ज्ञान र सीप दिएर वन र खोलामा आश्रित हुनबाट रोक्नुपर्छ।’
खोलामा गएर माछा मार्ने र त्यही माछा बिक्री गरेर जीविकोपार्जन गर्ने बोटे समुदायलाई वैकल्पिक पेसामा लगाउन सकेमा संरक्षणमा समेत टेवा पुग्ने उनको भनाइ छ।