मंगलबार, मंसिर १९, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • माओवादी नेता केसी बने लुम्बिनीको मुख्यमन्त्री, कांग्रेस महाधिवेशन अन्योलमा [२०७८-४-२८]

माओवादी नेता केसी बने लुम्बिनीको मुख्यमन्त्री, कांग्रेस महाधिवेशन अन्योलमा [२०७८-४-२८]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्।
 |  बिहीबार, साउन २८, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

sagarmatha cement

मुख्यमन्त्रीमा दावी पेस गर्नका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिइएको थियो। उक्त समयमा केसीको मात्र दाबी परेको थियो। केसीलाई ४ दलीय गठबन्धनको समर्थन छ। माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र राजनीतिक समूहका एकजना गरी ४२ जना सांसदले मुख्यमन्त्री नियुक्त गर्न बिहीबार बिहान प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका थिए।  

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री रहेका केसी अबको ८ महिनासम्म मुख्यमन्त्री बन्ने छन्। बाँकी ८ महिना भने नेपाली कांग्रेसका वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति गठबन्धनका दलहरूबीच भएको छ।

मुख्यमन्त्री केसीले आजै माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै ७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन्।

000

यता सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तीनवटा एजेन्डा प्रस्तुत गरिएका छन्। 

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि पेश गरेका छन्। साथै केन्द्रीय क्रियाशील समितिका प्रतिवेदन र समायोजनबारे भएका काम र टुंगिन बाँकी रहेका विषयबारे पनि छलफलका लागि पेश भएको छ।

आसन्न महाधिवेशनको कार्यतालिका पेस गर्ने भनिए पनि नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक यसबारे मौन देखिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने भनिएको छ। कांग्रेसले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यता विवाद समाधान गर्न सकेको छैन। महाधिवेशन असोज वा मंसिरमा सार्ने तयारी छ।

यस्तै क्रियाशील सदस्यता विवाद तत्काल सल्टाउनुपर्ने र तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको निवासबाहिर प्रर्दशन गरेका छन्। पार्टी कार्यालयको धर्ना र विरोध छल्न देउवाको निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसमितिको बैठक राखिएका भन्दै उनीहरुले त्यही गएर प्रदर्शन गरेका हुन्।

यस्तै, नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन्।

ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन्। बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताए। उनले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताए।

देउवा निकटका जिल्ला सभापतिहरुले केही वडाहरुमा क्रियाशील सदस्यताहरुको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाएका छन्। उनहिरुले चाडो विवाद मिलाउन पनि आग्रह गरेका छन्। महाधिवेश टार्नका लागि शीर्ष नेताहरुले बेवास्ता गरिरहेको पनि उनीहरुको ठहर छ। 

000

उता, नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको टिप्पणी गरेका छन्। 

बिहीवार प्रतिनिधि सभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको टिप्पणी गरेका हुन्। नेता पौडेलले कोभिड अवधिको तथ्यांकको सहारा लिएर २०७५/०७६ को आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको समेत दाबी गरे। 

पूर्व अर्थमन्त्री पौडेलले स्वदेश वा विदेशबाट लिइएको सार्वजनिक ऋण चालु खर्चमा लगाउन नपाउने कानूनि व्यवस्था गरेको बताउँदै राजस्वले चालु खर्च धान्ने र विकासका लागि ऋण लिनुपर्ने विशिष्ठ अवस्थामा देश रहेको बताए। उनले ऋण नलिने विकास नगर्ने नभएर ऋण लिने र विकास पनि गर्ने बताए।

नेता पौडैलले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार दाबी गर्दै अघिल्लो सरकारले भन्दा लोकप्रिय बजेट प्रस्तुत गर्न चुनौति दिए। 

संसद्‍कै अर्को प्रसंगमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह नरहेको स्पष्ट पारेका छन्।

बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह डाटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताएका हुन्। उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताए। अर्थमन्त्री शर्माले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि दाबी गरे। 

अर्थमन्त्री शर्माले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गर्ने बताए। आग्रह र प्रर्वाग्रहमा निकट र टाढाको नातामा वा गुटका आधारमा यो सरकारले बजेट विनियोजन नगर्ने पनि उनले स्पष्ट पारे। 

राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढीरहने बताउँदै अर्थमन्त्री शर्माले प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने बताए। उनले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने बताए। 

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर भनी दिएको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन्। रोल ...

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले पुर्व प्रधानमन्त्री ओली मेन्टली र फिजिकली ठिक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति जनाएका हुन्। उनले मेन्टली डिसअर्डर भन्ने अधिकार कसले दियो भनेर प्रश्न गर्दै संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए। 

यसअघि बोल्दै नेकपा माओवादी केन्द्रका सांसद यादवले पुर्व प्रधानमन्त्री ओली मेन्टली र फिजिकली पनि ठिक नभएको र आफुले सो कुरा एउटै पार्टी भएका बेला पनि भन्दै आएको बताए। उनले आफुखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको भन्दै सांसद यादवले आपत्ती जनाएका छन्। उनले परमादेशबाट संसद व्युँतिएको अभिव्यक्ति दिने सबैलाई राजीनामा दिन समेत चुनौती दिए। 

000

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप लगाइसक्ने बताएका छन्। 

बिहीवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिए। उनले असोज मशान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने उनले बताए। त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुनेपनि उनले जनाकारी दिए।

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताए। 

उनले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख गरे। वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्म खोप लगाएको उहाँले जानकारी दिए। उनले विगत एक हप्ताको आँकडा अनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गरे। राज्यमन्त्री श्रेष्ठले हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिए। 

कोरोनाकै अर्को प्रसंगमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २६० जनामा कोरोना संक्रमण भएको छ। 

यस अवधिमा संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३८ हजार १८० पुगेको छ। आजसम्म नेपालमा कुल सात लाख ९८ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२१२ पुगेको छ। पछिल्लो २४ घण्टामा २२९४ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ।

यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तिव्रता दिएको छ। 

नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो। काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ। मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताए।  

अहिले संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरबाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ। यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत पनि गराएको छ। यससँगै काठमाडौंको ३ वटै जिल्लामा आजदेखि ८ बजेपछि अत्यावश्यक सेवा बाहेक सबैलाई हिडडुल/आवत्जावत्मा रोक लगाइएको छ।

000

खेल प्रसंगमा लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने सपना रहेको बताएका छन्। 

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा आवद्ध भएका मेस्सीले एकपटक फेरि युरोपियन च्याम्पियन बन्ने सपना रहेको र योपटक पिएसजीबाट त्यो चाहना पूरा गर्ने व्यक्त गरेका हुन्। ३४ वर्षका मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। तर पिएसजीले भने अझैसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। सन् २०२० मा पिएसजी फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको थियो।

प्रकाशित: Aug 12, 2021| 21:07 बिहीबार, साउन २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...