मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भित्तामा फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

भित्तामा फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर भित्तामा टाँसेर प्रदूषण र फोहोरमैला गराएको भन्दै एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। 

महानगरले नेपाली वेबसाइट मिडिया प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो। फिल्म 'बगान' को पोस्टर सार्वजनिक स्थानको भित्तामा टाँसेको कसुरमा सो जरिवाना तिराइएको हो।

महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका छन्।

'बालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नुभयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला,' उनले पैसा तिरेको रसिद राख्दै लेखेका छन्, 'हाम्रो जानकारीबिना हाम्रा वितरकले भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ।'

गत चैत ३० गते प्रकाशन भएको 'काठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९' ले महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको थियो।

सर्वसाधारणको सुरक्षा, शहरी सुन्दरता, सडकपेटी, सार्वजनिक संरचना, विद्युत र टेलिफोनका खम्बालगायत कुनै पनि ठाउँमा विज्ञापन गर्न निषेध गरिएको उक्त निर्देशिकामा उल्लेख छ। त्यसो गरेमा न्यायिक समितिले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ।

प्रकाशित: Jul 19, 2023| 06:21 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्