शनिबार, जेठ ३०, २०८३

अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

ललितपुर- पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरुआत गरिएको छ। अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ।
 
ललितपुर महानगरपालिकाको वडा नं ६ मा पर्ने सुन्धारा क्षेत्रलाई नेवार समुदायको भाषामा नुगः भनेर चिनिन्छ। यस क्षेत्र आसपमा सयौँ वर्ष पहिले अस्तित्वमा रहेर भत्किएका सम्पदाको अवशेष अहिले पनि छन्।

National life

नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले पुनःनिर्माण सुरु भएको नरनारायण मन्दिरलाई अवशेषका आधारमा निर्माण गर्न थालेको जानकारी दिए। उनले भने, “सुन्धारा क्षेत्रमा छ पुरात्वातिक सम्पदाका अवशेष बाँकी छन्,। यी सम्भवतः विसं १९९० को भूकम्पले भत्काएको हुुनुपर्छ। ती अवशेषलाई पुनःनिर्माण गर्न सरकारले चासो नदेखाउँदा सम्पदाको जग्गा अतिक्रमण गरेर घर बन्दैछन्।”

नरनारायण मन्दिरको अवशेष अध्ययन गरी नक्सापास गर्दा मन्दिरको गहिराइ आठ फिड रहेको हुँदा मन्दिरको उचाइ ३२ फिड अग्लो हुनेछ। मन्दिर पुनःनिर्माण गर्नका लागि पुरातत्व विभागमा गएर आफूले प्राविधिक सहयोग मागेको तर पुरातत्व विभागले सहयोग नगरेको नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले दुःखेसो पोखे।

मन्दिर पुनःनिर्माण गर्नलाई नक्सा तयार गर्न मात्र करिब ११ महिना लागेको उनको भनाइ छ। विसं २०७४ को स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित श्रेष्ठ अवशेष मात्र बाँकी रहेका पुरात्वातिक सम्पदालाई पुनःनिर्माण गर्न र जगेर्ना गर्न रुचि भएकाले ललितपुर महानगरको आर्थिक सहयोगमा पुनःनिर्माणमा जुटेको बताए। 

पुननिर्माण सुरु भएको पुरातात्विक सम्पदा नरनारायण मन्दिरको छेउमा प्वास्याः फल्चा (पाटी) घर भूकम्प गएको आठ वर्षपछि पुनःनिमार्णको अन्तिम चरणमा छ। नेवार समुदायको परम्परागत घरको झल्को दिने गरी पनुःनिर्माण भएको प्वास्याः फल्चा (पाटी)लाई विसं २०७२ को भूकम्पले क्षति पुर्याएको थियो।

Shivam cement

नेवारी भाषामा प्वास्याः फल्चा (पाटी) घरमा विशेषगरी नेवारी समुदायको विभिन्न सार्वजनिक कार्यक्रम हुने गर्छ। प्वास्याः फल्चा (पाटी) घरलाई ज्येष्ठ नागरिक र बालबालिका भेला हुने थलोका रूपमा पनि लिने गरिन्छ। भूकम्पले क्षति पुर्याएको उक्त सम्पदा पुनःनिर्माण गर्न दुई वर्ष लाग्यो। अबको दुई महिनाभित्र निमार्ण सम्पन्न हुनेछ। 

पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनःनिमार्णको चासो कसैले नदेखाएको ७० वर्षीय स्थानीय राधेश्याम प्रजापतिले गुनासो गरे। सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ।

प्रकाशित: Jul 18, 2023| 23:02 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्