शनिबार, जेठ ३०, २०८३

नवलपरासीमा सवारीसाधन दुर्घटनामा कमी

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा  सवारीसाधन दुर्घटनामा कमी आएको छ। पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार दुर्घटनामा मानवीय क्षति पनि कम भएको पाइएको छ। 

National life

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार पूर्वपश्चिम राजमार्ग विस्तारसँगै दुर्घटनामा कमी आएको छ। आर्थिक वर्ष २०७९-८० मा ७५ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो। आर्थिक वर्ष २०७५-७६ मा एक सय १८ सवारीसाधन दुर्घटनामा परी ७० जनाको मृत्यु भएको थियो। 

यस्तै आव २०७६-७७ मा ९५, आव २०७७-७८ मा ६४ र आव २०७८-७९ मा ३९ सवारीसाधन दुर्घटना भएका थिए। दुर्घटनामा परी आव २०७६-७७ मा ५४, आव २०७७-७८ मा ४६ र आव २०७८-७९ मा ४१ जनाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलले बताए। जिल्लामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्म ६८ किलोमिटर सडक पर्छ। 

‘सडक विस्तार हुनुअघि दुर्घटनाको दर बढी थियो’, उनले भने, ‘सडक विस्तार गर्दा दुर्घटनामा कमी आएको छ।’ अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ। सडकको अवस्था र चालकको लापरबाहीका कारण पनि दुर्घटना अत्यधिक हुने गरेको उनको भनाइ छ। सवारीसाधन दुर्घटना कमी ल्याउन सचेतना कार्यक्रम, ट्राफिक सप्ताह, सुरक्षा जाँच वृद्धिलगायतका काम गर्दैआएको पौडेलले बताए।

‘सवारीसाधनको अवस्था तथा चालकको स्वास्थ्य परीक्षणसमेत गर्ने गरेका छौँ’, उनले भने। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शैक्षिक संस्थामा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

Shivam cement

प्रकाशित: Jul 18, 2023| 20:41 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्