NadaNada
बिहीबार, भदौ ५, २०८२

भावुक हुँदै प्रचण्डले भने- सीताले मृत्यु पनि निकै शान्त रोजिन्

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धाञ्जलीका लागि बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको थियो। सातौं दिन आज श्रद्धाञ्जली कार्यक्रम राखिएको हो।

श्रद्धाञ्जली कार्यक्रममा प्रचण्ड निकै भावुक थिए। पत्नी सीताले मृत्यु पनि निकै शान्त रोजेको उनले बताए। सीता बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिई उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको उनले सुनाए।

अन्तिम अवस्थामा अस्पतालको आईसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाँच्दासम्म सीताले अरूलाई पीडा नदिएको प्रचण्डले बताए। ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन्। साढे सात बजे अस्पताल लगेकोमा लगभग ८:३० मा उनी बिदा भइन्।’

सीताप्रति श्रद्धाञ्जली र आफूहरुलाई सान्त्वना दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए।

‘उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनाउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको छ,’ प्रचण्डले भने। शोकको घडीमा समाजका सबै क्षेत्र, तह, तप्का र मित्रराष्ट्रसहित सबैजसो सरकार प्रमुखबाट प्राप्त सहानुभूतिप्रति उनले आभार प्रकट गरे। साथै उनले सबैतिरबाट पाएको साथले आफूलाई देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको महसुस भएको बताए।

Metro Mart

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।  उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत दाहाललाई श्रद्धाञ्जली दिन बालुवाटार पुगेका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्षकुमार माधव नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पनि सभामा सहभागी थिए। राजनीतिक दलका अन्य नेता, मन्त्री, सांसद र सरकारी अधिकारीहरू पनि श्रद्धाञ्जली सभामा उपस्थित थिए।

 

प्रकाशित: Jul 18, 2023| 12:30 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्