शनिबार, जेठ ३०, २०८३

कमैया मुक्तिका २३ वर्ष, पुनःस्थापना अझै अपूरो

जमिनदारको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २ साउन २०५७ मा मुक्त भएको घोषणा गरेको थियो।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

कैलाली– दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ। यद्यपि अझै पनि पुनस्र्थापना हुन नसकेको मुक्त कमैयाको गुनासो रहँदै आएको छ। जमिनदारको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २ साउन २०५७ मा मुक्त भएको घोषणा गरेको थियो। 

National life

तत्कालीन समय सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो। यद्यपि पुनस्र्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ।

मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुनस्र्थापना हुन नसक्दा पीडा थपिएको र दुःखले मनाउनु परेको मञ्चका अध्यक्ष सीमा चौधरीले गुनासो गरिन्।

शिक्षा, स्वास्थ्य, रोजगारी,  दिगो जीविकोपार्जन, सामाजिक  सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैया आर्थिक, समाजिक र राजनीतिक रुपमा पछि पर्दै आएको उनको भनाइ छ। अध्यक्ष चौधरीले मुक्त कमैयाको पुनस्र्थापनामा सहयोग गर्न सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासमक्ष अनुरोध गरेका छन्। 

कैलालीमा ९ हजार ७६२ मुक्त कमैया परिवार रहेकामा ९५३ जनाको उचित पुर्नस्थापना हुन बाँकी रहेको उनको भनाइ छ। मुक्त कमैयाको परिचयपत्रसहित पुनस्र्थापना, जनता आवास कार्यक्रम लागू गर्न, अति आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, मुक्त कमैयाका बालबालिका, कमलहरि तथा युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्न मञ्चले माग गरेको छ।

Shivam cement

अध्यक्ष चौधरीले मुक्त कमैया, कमलहरि, हलिया र हरुवा चरुवाको वस्तुस्थिति अध्ययन प्रतिवेदनको सिफारिस कार्यान्वयन गरिनुपर्ने, मुक्त कमैयालाई व्यवसाय सञ्चालनका लागि विना धितो पाँच वर्षका लागि ५ लाखसम्म ऋण उपलब्ध गराइनुपर्ने र राज्यका हरेक तहमा मुक्त कमैयाको सहभागिताको सुनिश्चितता गरिनुपर्ने माग गरे।–रासस

प्रकाशित: Jul 18, 2023| 00:16 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्