NadaNada
बिहीबार, भदौ ५, २०८२

व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

यससम्बन्धी सूचना महानगर प्रमुख बालेन शाहले फेसबुकमा पोस्ट गरेका छन्।
 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्रका व्यावसायिक भवनहरू निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताल लगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ।

यससम्बन्धी सूचना महानगर प्रमुख बालेन शाहले फेसबुकमा पोस्ट गरेका छन्।

महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो। बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ। सेवाग्राहीबाहेक अन्यसँग भने पार्किङ शुल्क लिन सकिनेछ।

व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ। पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारबाही गर्ने ऐनमा जनाइएको छ। यस्ता स्थानबाट सम्पत्ति करसहित सम्बन्धित अन्य कर असुल गरिनेछ।

'सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ गर्न अनुमति दिइने छैन' आर्थिक ऐन २०८० मा भनिएको छ 'काठमाडौं महानगरपालिका आफैंले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत निश्चित सवारी साधनमा पार्किङ शुल्क लगाइ असुल गरिनेछ।'

Metro Mart

निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ। महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ। यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ।

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ। यस क्षेत्रमा सवारी साधन पार्किङ गरेवापत २ पांग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ। यसैगरी ४ पांग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ। यी क्षेत्रमा २ पांग्रे सवारी साधन पार्किङ गरेवापत प्रति घण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि ४० रुपैयाँ र सोभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: Jul 17, 2023| 19:58 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्