शनिबार, जेठ ३०, २०८३

पर्वतको ४० प्रतिशत पिउने पानीमा इ.कोली

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

पर्वत- पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ। जिल्लाका सात स्थानीय तहमा पुगेर नमुनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए।

National life

यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी पिउने गरेको र यसले उनीहरूको स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ। स्वास्थ्य कार्यालय पर्वतले आज खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय माझ उक्त नतिजा सार्वजनिक गरेको हो।

'इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने खतरा बढेको छ। यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ', पौडेलले भने, 'हिउँदको समयमा भन्दा वर्षातको समयमा इ.कोली बढी भेटिन्छ। वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ। एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ।'

ल्याब टेक्निसियन दीपा केसीका अनुसार खाने पानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा रहेको पाइएको छ। उनका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न पाँच वटा आयोजनाबाट २० वटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा आठ वटामा इ.कोली देखिएको छ भने बाँकी १२ वटा नमूनामा खान योग्य देखिएको छ।

मोदीका नौ वटा आयोजनाको ३५ वटा नमुनामध्ये नौ वटामा इ.कोली भेटिएको छ भने बाँकी २६ वटा खान योग्य पाइएको छ। जलजला गाउँपालिकाका ७ वटा आयोजनाबाट २३ वटा नमुना सङ्कलन गरिएकोमा ७ वटा पानीको नमुनामा इ.कोली देखिएको छ भने बाँकी १६ वटा खान योग्य पाइएको छ।

Shivam cement

फलेवास नगरपालिकाभित्रका विभिन्न १५ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका आठ वटामा इ.कोली देखिएको छ भने बाँकी ७ वटा खान योग्य पाईएको छ। यसैगरी विहादी गाउँपालिका भित्रका १८ वटा श्रोतको पानी परीक्षण गर्दा १० वटामा इ.कोली देखिएको छ भने बाँकी ८ वटा खान योग्य पाइएको छ।

पैंयुँ गाउँपालिकामा पुगेर २७ वटा स्रोतको पानी परीक्षण गर्दा १५ वटामा इ.कोलीको मात्रा देखिएको छ भने बाँकी १२ वटा पिउन योग्य पाईएको केसीले बताए। महाशिला गाउँपालिकाका १७ वटा श्रोतको पानी परिक्षण गर्दा सात वटामा इ.कोली भेटिएको छ भने बाँकी १० वटा स्रोतको पानी पिउनयोग्य रहेको भेटिएको छ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने ल्याब टेक्निसियन केसीले बताए। 'इ.कोलीयुक्त पानी पिउँदा दिसाजन्य रोगहरूले महामारीको रूप लिन सक्ने पनि अवस्था आउँछ। यसबाट जोगिनको लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ', उनले भने, 'यो बर्खाको बेलामा कोलीफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ। यो जमिनमा भएको फोहर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ। जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ। त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ।'

प्रकाशित: Jul 16, 2023| 21:31 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्