मंगलबारे- इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ। रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो।
टहरा व्यवस्थापनका लागि मन्त्रालयले ४० लाख, रोङ गाउँपालिकाले २० लाख र उपभोक्ताले छ लाख १२ हजार पाँच सय खर्च गरेका गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)ले बताए। उनका अनुसार ४८ वटा व्यावसायिक टहरालाई आकर्षक रुपमा निर्माण गरिएको छ। टहरा निर्माण र मन्दिर परिसर सजावटका लागि ६८ लाख ४२ हजार छ सय खर्च भएको छ।
धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनको सहजताका साथै यहाँको व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले व्यवस्थित टहरा निर्माण गरिएको अध्यक्ष स्याङ्वोले बताए। टहरा निर्माणपछि पाथीभरा मन्दिर परिसर आकर्षक र व्यवस्थित देखिएको छ। उनका अनुसार टहरा निर्माणपछि विद्युत् जडान, हाँसपोखरी, कुट्टीडाँडा क्षेत्रमा दुबोरोपणसमेत गरिएको छ।
इलाम प्रवेशद्वार जोरकलस, कुट्टीडाँडा, हाँसपोखरी हर्कटेलगायत मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसरलाई सुन्दर बनाउन थालिएको अध्यक्ष स्याङ्वोले जानकारी दिए। धार्मिक पर्यटनसँगै मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई समेत सौन्दयकरणले आकर्षीत गराउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ। सौन्दर्यकरणले रोङमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ थियो।
रोङ–३ मा रहेको पाथीभरा मन्दिर परिसरमा ‘माता पाथीभरा साना पर्यटन व्यवसायीले संस्था’ स्थापना गरी व्यवसाय गर्दै आएका छन्। स्थानीय सरकारले पाथीभराको प्रवद्र्धनमा चासोका साथ काम अगाडि बढाएको यहाँका व्यवसायी बताउँछन्। यसअघि यस क्षेत्रमा अव्यवस्थित र मनोमानी ढंगले व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएकामा अब व्यवस्थित हुने उनीहरूको भनाइ थियो।
मन्दिरमा आउने भक्तजनका साथै मन्दिर परिसरमा पुजाका सामग्रीलगायत सेवा प्रदान गर्ने व्यवसायीको सहजताका लागि पालिकाले काम गरिरहेको पालिकाको दाबी छ। यस क्षेत्रमा साना व्यवसायी संस्थामा हालसम्म ४८ जना व्यवसायी आवद्ध रहेका पालिकाले जनाएको छ। संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन्।
गाउँपालिकाको मातहतमा मन्दिर आएपछि मन्दिर थप व्यवस्थित र सफा भएको अनुभूति भएको भक्तजनको भनाइ छ। वार्षिक करोडौँ रकम संकलन हुने यस मन्दिरमा पछिल्लो समय आम्दानी वृद्धि हुँदै गएको छ। ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पुग्न नसक्नेले स्मरण थर्दासमेत मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यहाँ झापा, मोरङ, सुनसरीलगायत तराईका विभिन्न जिल्लाबाट दैनिक सयौँ भक्तजन आउने गरेका छन्।