शनिबार, जेठ ३०, २०८३

कर्णालीका घरघरमा प्रहरीको स्टिकर

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

सुर्खेत- कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ। सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो।  

National life

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गरेका छन्। अभियानको सुरुआत गर्दै उपप्रधानमन्त्री खड्काले सो कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत पुग्ने बताए। आपत विपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले उक्त अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उनले उल्लेख गरे। उपप्रधानमन्त्री खड्काले उक्त अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गरे। 

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले प्रहरीको सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताए। प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताको प्रहरीसँग पहुँच बढाउन तथा सुरक्षित प्रदेश बनाउनका लागि घर घरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस्ने अभियान थालिएको उनले बताए। 

कर्णाली प्रदेशका तीन लाख ७१ हजारभन्दा बढी घरमा स्टिकर टाँसिने छ। डिआईजी ढकालले तीन महिनासम्म स्टिकर टाँसिने र यसका लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए। स्टिकर टाँस्दा पारिवारिक तथ्यांक पनि लिइनेछ। कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ। जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई जनतासँग जोड्नका लागि यो अभियानले सहयोग पुग्ने बताए। उनले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातोमालो गर्नुपर्ने जिकिर गरे। 

Shivam cement

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकाले सार्थक बनाउन सहयोगको आग्रह गरेका छन्। स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स र बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ।  रासस

प्रकाशित: Jul 16, 2023| 22:03 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्