बुधबार, साउन ६, २०८३

सुगम जिल्ला तनहुँमै पाँच घण्टा हिँड्नुपर्छ स्कुल पुग्न

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।
 |  शुक्रबार, असार ८, २०८०

कृष्ण न्यौपाने

कृष्ण न्यौपाने

शुक्रबार, असार ८, २०८०

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ।

आँबुखैरेनी गाउँपालिका–५ लाम्दिकी मुना गुरुङ विद्यालय जान बिहान ७.३० बजे नै घरबाट निस्किन्छन्। गुरुङलाई विद्यालय पुग्न साँढे दुई घण्टा समय लाग्छ। सबेरै नहिँडे विद्यालय पुग्न असम्भव छ। कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक पाँच घण्टा विद्यालय आउजाउँ गर्न खर्चिन्छन्।

बिहान साँढे दुई घण्टा र विद्यालयबाट घर फर्किन साँढे दुई घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ। 'बिहानै हिँडेर विद्यालय जाने र फर्किने गर्दा पाँच घण्टाको यात्रा गर्नुपर्ने हुन्छ, बेलुका घर फर्किंदा त रातै पर्छ,' गुरुङले भने। दैनिक यसरी हिँड्दा खुट्टा दुख्नुका साथै अध्ययनमा पनि समस्या हुँदै आएको उनको भनाइ थियो।

सोही कक्षामा अध्ययनरत लाम्दिको तल्लो भेगका विजय गुरुङ पनि दैनिक विद्यालय आउजाउ गर्न पाँच घण्टा हिँड्छन्। बिहानै साथीभाइसँग पैदलयात्रा गरेपछि करिब साँढे दुई घण्टापछि उनी विद्यालय पुग्छन्। उनले भने, 'हाम्रो घरबाट विद्यालय पुग्न साँढे दुई घण्टा लाग्छ। साथीहरुसँग हिँडेरै विद्यालय जाने आउने गरेका छौँ।'

कक्षा ८ मा अध्ययनरत सोही ठाउँकै गुनबहादुर गुरुङको दैनिकी पनि यस्तै छ। उनले भने, 'घर नजिक विद्यालय छैन। यसरी हिँडनुको विकल्प छैन।' विद्यालयबाट सबैभन्दा टाढाको दूरीमा रहेको ठाउँ हो लाम्दि। यहाँका विद्यार्थी दैनिक यसरी नै हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ। यसबाहेक भोटेश्वाराका विद्यार्थीले पनि दैनिक विद्यालय जानमात्रै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता छ।

विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भौगोलिक दूरीका कारण विद्यार्थीलाई आउजाउमा समस्या हुँदै आएको बताए। 'गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको  सुविधाका लागि दुई वटा जीपको व्यवस्था गरेसँगै अब विद्यार्थीलाई आउजाउँमा सास्ती हुदैन्', उनले भने।

प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा एक सय २४ विद्यार्थी अध्ययनरत रहेकामध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो। उनले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

विद्यालयलाई बस खरिद गरर दिने योजना बनाएको गाउँपालिकाले तत्कालका लागि मङ्गलबारदेखि दुई वटा जीप सञ्चालनमा ल्याएको जनाएको छ। योसँगै भौगोलिक दूरी टाढा भएका विद्यार्थीले अब पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ।

जीप सञ्चालनमा आएपछि कक्षा १० मा अध्ययनरत मुना गुरुङले जीप चढेर विद्यालय पुग्न २०/२५ मिनेट लाग्ने बताए। उनले भने, 'अब एकदम सजिलो हुने भयो। हिँड्दा खर्च हुने समयमा अब पढाइमा लगाउन सकिन्छ।'

विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए। उनले भने, 'पन्ध्र वर्ष अगाडि म पनि यही विद्यालयमा पढ्दा दैनिक घण्टौं हिँडेर आउँथे। गाउँपालिकाले जीप उपलब्ध गराएपछि कष्टकर यात्रा अब अन्त्य भएको छ।'

प्रधानाध्यापक गुरुङका अनुसार दुई वटा जीपले दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ। वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जीप सञ्चालन गरिएको छ। वडा नं ५ मा चल्ने जीपले बाटोमा पर्ने ६ नं वडाका विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको उनले जानकारी दिए। उनका अनुसार दुवै वडाका करिब ८० विद्यार्थीले यो सुविधा पाएका छन्।

'वडा नं ५ र ६ को सिमानामा पर्ने खारेडाँडामा रहेको जोखिमपूर्ण भिरको बाटो हिड्नुपर्ने बाध्यता अन्त्य भएको छ', प्रधानाध्यापक गुरुङले भने, 'उक्त ठाउँमा दुई वर्ष अगाडि ग्याबिन जाली भरेर सुरक्षित बनाइएको छ। वर्षाको समयमा बाटो बिग्रिने, पहिरो जानेलगायत समस्याका कारण विद्यार्थीले दुःख पाएका थिए।'

विद्यालय सुधार अभियानअन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइञ्जेल कन्यादेवीलाई जीप उपलब्ध गराइएको हो।

अध्यक्ष चुमानले भने, 'कतिपय विद्यार्थीलाई विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो। त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ। यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन्।' उनका अनुसार आँबुखैरेनी गाउँपालिकाको छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन्। 'गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत अगाडि बढाएको छ', उनले भने।    -रासस

प्रकाशित: Jun 23, 2023| 07:31 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्