काठमाडौं- रुपन्देही, सियारी गाउँपालिका-२ भगदरीमा प्रदेश २-००३-००१ ह ००५४ नम्बरको ई-रिक्सा अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ई-रिक्सामा सवार सोही गाउँपालिका-५ छपिया बस्ने ६७ वर्षीय बुद्दी न्यौपानेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ई- रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कालिकोट, रास्कोट नगरपालिका-२ सेरा बजारमा ग.३ च ४६१० नम्बरको डबलक्याप जिप सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा सोही नगरपालिका- १ बस्ने ४३ वर्षीय मन बहादुर शाही र ३६ वर्षीया मन कुमारी शाही रहेका छन्। साथै दुर्घटना घाइते भएकी जिपमा सवार अन्य १ जनालाई गौत अस्पताल रास्कोट हुँदै थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाही, ईश्वरपुर नगरपालिका-३ स्थित सडकमा बिआर ३० आर ३८८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत सितामढी ईनरवा गाउँ बस्ने १७ वर्षीय दिपक महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि वीरगंजतर्फ पठाइएको छ।
मोरङ, बुढिगंगा गाउँपालिका-४ बुढिखोलास्थित सडकमा ना.४ ख ९५०० नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ गोकुवा बस्ने ६० वर्षीय वीरबहादुर रायको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
करेन्ट लागेर मृत्यु
ललितपुर, गोदावारी नगरपालिका-८ डुकुछापस्थित बाग्मती प्रदेश ०३-००१ प २२०८ नम्बरको ट्रकले डोजर लिई जाँदै गर्दा सडकमा लत्रेको तार डोजर माथि चढी हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ, सुनवर्षी नगरपालिका-५ गुँहास टोल बस्ने ४७ वर्षीय लक्ष्मी सरदारको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ। आफ्नै घर पछाडी रहेको आँपको रूखमा चढि हरियो बाँसले आँप झार्ने क्रममा बाँसले विद्युतको तार छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सिरहा, लहान नगरपालिका-१४ बस्तिपुरस्थित त्रिशुल एग्रिकल्चर फर्ममा काम गर्ने नवराजपुर गाउँपालिका-३ बस्ने ३५ वर्षीय शिव कुमार सदायको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ। पानी तान्ने मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
मृत फेला
काठमाडौं महानगरपालिका-२२ सुन्धारास्थित होटल रोयल थकालीमा जेठ १९ गतेदेखि बस्दै आएका भारत घर भएका ५२ वर्षीय अविन नन्दा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
कैलाली, धनगढी उपमहानगरपालिका-१९ दक्षिण लल्लीपुरस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।