शनिबार, साउन ३०, २०८३

विनोद चौधरीले संसद्‍मा असंसदीय भाषा बोलेपछि...

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाइँ गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्‍यो राति तब … भन्ने उखान सुनाएका थिए। चौधरी बोलिरहँदा नेकपा (एमाले)का सांसदले नियमापत्ति गरेका थिए। एमालेका महिला सांसदहरूले उखान प्रयोग गरेर महिलामाथि आक्रमण गरिएको भन्दै उक्त उखान रेकर्डबाट हटाउन माग गरेका थिए। लगत्तै सभामुखले शब्द हटाउन निर्देशन दिएका थिए।

बजेट छलफलमा भाग लिँदै सांसद चौधरीले ‘उत्पादन साथमा अनुदानमा हातमा’, ‘एक स्वास्थ्य संस्था एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै,’ ‘नेपाल घुमौं नेपाल चिनौं’ जस्ता नाराले बजेटको दृष्टिकोण प्रस्ट्याएको बताए। तर, त्यसको कार्यान्वयनप्रति उनले आशंका व्यक्त गरे।

रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण नेपालको उत्पादन छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेको सांसद चौधरीले बताए। मल वितरणका लागि पेट्रोलमा जस्तै सरकारी तवरबाटै आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन? भन्दै उनले प्रश्नसमेत गरे।

भारत र बंगलादेशबाट ग्यास पाइपलाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सक्ने प्रस्ताव सरकारी निकायमा थन्किएर बसेको उनको भनाइ छ।

बजेटले आर्थिक सुधारलाई पछ्याउने कोशिस गरेको सांसद चौधरीले  बताए। उनले भने, 'बजेटको बुँदा नम्बर ५३ देखि ५८ सम्म ६ वटा बुँदामा आर्थिक सुधारको सोच एवं केही प्रतिवद्धताहरू आएका छन्। बजेटले आर्थिक सुधारको पक्षमा मुख्य रुपमा अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने एवं यो सुधार मूलतः व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा बृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्धनमा केन्द्रित हुने र निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक बनाउनेतर्फ सुधार निर्देशित हुनेभनिएको छ।'

प्रकाशित: Jun 08, 2023| 12:31 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्